गौरिका सिंहले पाउने भइन् ५६ लाख

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कारसहितको प्याकेज घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतलाई ३ लाख पुरस्कारको घोषणा गरे।

प्रधानमन्त्रीको घोषणा अनुसार १३ औं सागमा पौडीबाट चारवटा स्वर्ण पदक जितेकी १७ वर्षीया गौरिका सिंहले ५६ लाख रुपैयाँ पाउने भएकी छन्। उनले पौडीबाट चार स्वर्ण र २ रजत पदक जितेकी थिइन्।



प्रधानमन्त्रीले एक स्वर्ण जित्नेलाई ९ लाख तथा २ वा त्यो भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्। जसमा दुईवटा स्वर्ण विजेताले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार राशिअनुसार पौडीमा चार स्वर्ण जित्ने गौरिका सिँहले स्वर्णतर्फबाट ४४ लाख प्राप्त गर्नेछिन् । त्यसैगरी उनले दुईवटा रजत पदक पनि जितेकी छन् । दुईवटा रजतमा थप १२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् । उनले स्वर्ण र रजत गरि कम्तिमा ५६ लाख रुपैयाँ नगद पाउनेछिन् ।

१३ औं सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।

सम्बन्धित समाचार