दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पीपीएल० मा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको धनगढी ७९ रन बनाउँदै १७ ओभरमा अल आउट भएको हो ।
लगातार दुई खेलमा हार व्यहोरेको काठमाडौंको पुनरागमन जितमा बलिङतर्फ बसन्त रेग्मीले ३ विकेट लिए । धनगढीले ७९ रन बनाउँदा श्रीवन्थ विजयरत्नले १५ रन र रोड्रिगो थामेसले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
धनगढीविरुद्ध रेग्मीसँगै सुवोध भाटी र पवन सरार्फले समान दुई–दुई विकेट लिए भने सुशान भारी र अमित भट्टराईले समान एक–एक विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ९ छक्का र ८ चौका प्रहर गर्दै सय रन बनाएका थिए ।
यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । खराब मौषमको कारण टस ढिला भएको कारण खेल १७ ओभरमा घटाइएको थियो ।
यस संस्करणमा काठमाडौंले बनाएको १ सय ८५ रनको लक्ष्य पीपीएलकै सबैभन्दा ठूलो हो । धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । पहिलो जित हात पारेको काठमाडौंलले ३ खेलमा २ अंक जोडेको छ भने धनगढीले दुई खेलबाट २ अंक जोडेको छ ।