नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत चितवन राइनोजले बिराटनगर टाइटन्सलाई १४७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउदै १४६ रन बनाएको थियो ।
चितवनका लागि आरिफ सेख र सन्नी पटेलले आक्रामक ब्याटिंग गरेका थिए । दुवैले १६ बलमा ५४ रनको साझेदारी गरेका थिए ।
आरिफले २२ बलमा ३९ रन बनाएका थिए । उनले ३ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यस्तै सन्नी पटेल ८ बलमा २७ रन बनाएका थिए । पटेलले ३ छक्का र एक चौका प्रहार गरेका थिए ।
त्यस्तै चितवनका लागि कप्तान पारस खड्काले ३५ रन बनाएका थिए भने बाबर ह्यातले २५ रन बनाएर आउट भएका थिए । त्यस्तै रोहन मुस्तफाले ७ तथा अनिल कुमार शाहले ३ रन बनाएका थिए ।
त्यस्तै विराटनगरका बलर किशोर महतो, जितेन्द्र मुखिया, पुनित मेहरा र मुहमद जैद आलमले एक एक विकेट लिएका थिए ।
जारी पिपिएलमा चितवन राइनोजले अहिलेसम्म खेलेका तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने विराटनगर टाइटन्सले भने यस अघि खेलेका तीन खेलमा एक जित र २ हारसहित २ अंक बटुलेर तेस्रो स्थानमा रहेको छ ।