देशको प्रतिष्ठामाथि उठाउने सशक्त माध्यम खेलकुद क्षेत्र : मन्त्री विश्वकर्मा

माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले देशको प्रतिष्ठामाथि उठाउने सशक्त माध्यम खेलकुद क्षेत्र भएको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले देशको इज्जत प्रतिष्ठा र गरिमालाई अन्तर्राष्ट्रिय क्षेत्रमै स्थापित गर्नका लागि खेलकुद क्षेत्र एउटा सशक्त माध्यम भएको बताएका हुन् ।

खेलकुद क्षेत्रमा धेरै सम्भावनाहरू र अवसरहरू रहेको जनाउदै मन्त्री विश्वकर्माले विकसित देशहरूले खेललाई पेशा, व्यवसाय र उद्योगका रूपमा लिएकोले नेपालमा पनि खेललाई देशको आर्थिक समृद्धि हासिल गर्ने एउटा सशक्त माध्यमका रूपमा लिन सकिने धारणा राखे ।



अहिले नेपालमा पनि खेलक्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको भन्दै मन्त्री विश्वकर्माले अब खेलाडीहरूले खेलक्षेत्रमा लागेर पछुताउनु पर्ने अवस्था नआउने दावी गरे । साथै, उनले खेलाडीहरूलाई खेल क्षेत्रमा लागेर आफ्नो भविष्यको सुनिश्चितताको प्रत्याभूती दिलाउन सरकार खेलाडीहरुलाई सेवा सुविधा र सहुलियत दिने वातावरण बनाउनतर्फ केन्द्रित रहेको बताए ।

सम्बन्धित समाचार