आज सलमानको बर्थडे, यसरी बने बक्स अफिसका दबंग

बलिवुड अभिनेता सलमान खानले आज आफ्नो ५४औ जन्मदिन आज मनाउदै छन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका सलमान खान अहिले बलिवुडका सबै भन्दा सफल अभिनेता हुन् ।

पछिल्लो दशक भारतीय बक्स अफिसमा लगातार सुपरहिट बनेका अभिनेता सलमानको असली नाम अबदुल राशिद सलीम सलमान खान हो ।



सन् १९८८ मा आएको बीबी हो तो ऐसी भन्ने फिल्ममा सपोर्टिंग अभिनेताको रुपमा अभिनय गर्दै बलिवुडमा आफ्नो क्यारियर शुरु गरेका सलमानलाई सो फिल्मबाट कुनै चर्चा मिलेन । त्यसपछि सन् १९८९ मा आएको फिल्म मैने प्यार कियामा प्रमुख भूमिकामा अभिनय गरेका सलमानलाई सो फिल्मले रातारात स्टार बनाए पनि सो फिल्म रिलिजको ६ महिनासम्म उनको हातमा अर्को नयाँ फिल्म थिएन । यस फिल्ममा सलमानले बेस्ट डेभ्यु अभिनेताको फिल्म फेयर अवार्ड समेत पाएका थिए ।

त्यसपछि सन् १९९१ मा रिलिज भएको सलमानको फिल्म सनम बेवफा उनको क्यारियरको निकै महत्वपूर्ण फिल्म मानिन्छ । यसै बर्ष सलमानको अर्को फिल्म साजन पनि रिलिज भयो । संजय दत्त र माधुरी दिक्षितसँगको सो फिल्म पनि सुपरहिट भएको थियो ।

त्यसपछि सन् १९९४ मा राजकुमार सन्तोषीको फिल्म अन्दाज अपना अपनामा सलमान आमिर खानसँग देखिए । यस फिल्ममा सलमानलाई नयाँ अवतार कमेडीमा देखियो ।

त्यसपछि १९९७ मा आएको जुडवा र १९९८ मा आएको आफ्ना भाई सोहेलले निर्देशन गरेको फिल्म प्यार किया तो डरना क्याले पनि बक्स अफिसमा राम्रो कमाई गरे । सलमानको क्यारियरको अर्को चर्चित फिल्म सन् १९९९ मा रिलिज भएको हम दिल दे चुके सनम रह्यो । अभिनेत्री ऐश्वर्य रायसँगको सो फिल्म संजय लिला भन्सालीले निर्देशन गरेका थिए ।

फिल्ममा अर्का अभिनेता अजय देवगन रहे पनि सलमानको भूमिकालाई दर्शकले विशेष मान्ने गर्दछन ।

त्यसपछि सलमानको सन् २००३ मा रिलिज भएको फिल्म तेरे नाम सुपर हिट भयो । फिल्ममा सलमानले गरेको रोमान्टिक र भावविहलपूर्ण अभिनय दर्शकले अति मन पराए । त्यस्तै सन् २००५ मा रिलिज भएका फिल्म मैने प्यार क्यू किया र नो इन्ट्रीले दर्शकलाई सलमानको कमेडी रुप अत्यन्त मन पराए । त्यस्तै २००७ मा रिलिज भएको फिल्म पार्टनर पनि सुपर हिट भयो ।

सलमानको क्यारियरमा सन् २००८ मा रिलिज भएको फिल्म वान्टेडलाई विशेष मानिन्छ । प्रभु देवाले निर्देशन गरेको फिल्म वान्टेड पछि बक्स अफिसमा सलमानले नयाँ रेकर्ड बनाउदै आएका छन् । बक्स अफिसमा त्यसपछिका हरेक फिल्मले सय करोडभन्दा बढीको व्यापार गरेका छन् ।

वान्टेडपछि रिलिज भएका सबै फिल्मले सय करोडभन्दा बढीको व्यापार गर्दै सलमानलाई भारतीय बक्स अफिसको टाइगर बनाएका छन् । जसमा बजरंगी भाइजानले ३२० करोड, सुल्तानले ३ सय करोड, प्रेम रतन धन पायोले २०७ करोड र यसै बर्ष रिलिज भएको भारतले २०९ करोड कमाई गरेका छन् ।

यसरी अहिले बलिवुडमा सबैभन्दा लगातार सफल फिल्म दिने अभिनेताका रुपमा सलमान स्थापित भएका छन् । उनको हाल रिलिज भएको फिल्म दबंग-३ ले पनि सय करोड कमाई गरिसकेको छ ।

सम्बन्धित समाचार