आज रिलिज भएको बलिउड फिल्म गुड न्युज कस्तो छ ?

आज बलिवुडमा मल्टीस्टारर फिल्म गुडन्युज रिलिज भएको छ । यो फिल्म यस बर्षको अन्तिम रिलिज फिल्म हो । धर्मा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म कमेडीका साथै संदेश मुलक रहेको छ ।

फिल्म खासमा मुख्यरुपमा हाम्रो समाजमा चर्चा नहुने विषय टेस्ट ट्युब बेबीको कथामा बनेको छ । यस अघि स्पार्म दान दिने विषयमा बलिवुडमा विक्की डोनर बनाएर अभिनेता आयुष्मान खुराना बलिवुडमा स्थापित भएका थिए । फिल्मलाई कमेडीको रुपमा प्रस्तुत गरिएको भएपनि शहरका काम काजी दम्पती निसन्तान हुदा उनीहरुले प्रविधिको सहायतालिएर सन्तान जन्माउदा आएको घटना यस फिल्मको मुख्य कथा रहेको छ ।



फिल्ममा अक्षय कुमार, करीना कपुर, दिलजित दोसाझ र कवीर खान फेम अभिनेत्री कियारा आडवाणी प्रमुख भूमिकामा रहेका छन् ।

मुम्बईका कामकाजी अक्षयकुमार् (बरुण बत्रा) र करीना कपुर (दीप्ति) विवाहको लामो समयसम्म पनि सन्तान नहुँदा टेस्टट्युबको सहरामा बच्चा जन्माउने निर्णय गर्दछन् । यसै क्रममा अर्को जोडी दिलजित (हनी बत्रा) र कियारा (मोनिका) पनि सोहि क्लिनिकमा टेस्टट्युबको सहारामा सन्तान जन्माउन आउँछन । दुवै परिवारको थर बत्रा भएका कारण क्लिनिकको गल्ती हुँदा बरुण र बन्दाको स्पार्म साटिन्छ । यस पछि हुने घटनाक्रमलाई फिल्ममा कमेडीको हिसाबले प्रस्तुत गरिएको छ । फिल्ममा चारै जना कलाकारको अभिनय उत्कृष्ट रहेको छ ।

साथै नयाँ भएर पनि निर्देशक राज शर्माको निर्देशन तथा ज्योति कपुर र ऋषव शर्माको पटकथा अत्यन्त सटिक र उत्कृष्ट रहेको छ । खासगरि कमेडी जन्राको फिल्ममा कथालाई एउटा दायराबाट अगाडी बढाउने मात्र भन्दा कथाका हरेक पात्रलाई जीवन्त बनाएर फिल्म बनाउनु चुनौतीपूर्ण हुने गर्दछ । यस मामिलमा यस फिल्मका निर्देशक राज सफल भएका छन् ।

फिल्ममा पंजावी गीत समावेश गरिएको भएपनि दर्शकलाई पर्याप्त मनोरंजन दिने खालका नै छन् ।

फिल्ममा अक्षयकुमारको कमेडी सदा झैँ उत्कृष्ट रहेको छ । उनको यस बर्ष रिलिज भएको यो चौथो फिल्म हो । यस अघि रिलिज भएको केशरी, मिशन मंगल, हाउसफुल(४ तिनै फिल्मले बक्स अफिसमा सय करोडभन्दा बढीको कमाई गरेका थिए । मिशन मंगलले त अक्षयको क्यारियरकै सबैभन्दा धेरै दुई सयकरोडको कमाई गरेको थियो ।

अब गुडन्युजले पनि अक्षयकुमार को सफलतालाई निरन्तरता दिने निश्चित रहेको छ । फिल्मलाई नयाँ बर्षको बिदाको समेत फाइदा हुने छ भने अन्य फिल्म रिलिज नहुनुको पनि फाइदा हुने छ । अहिले प्रदर्शन भइरहेको सलमान खानको फिल्म दबंद(३ को औसत प्रदर्शनले पनि गुडन्युज फाइदामा रहेने देखिन्छ ।

सम्बन्धित समाचार