क्रिस्टियानो रोनाल्डोले फुटबलबाट सन्यास लिएपछिको आफ्नो योजना खुलस्त बताएका छन् । रोनाल्डोले शनिबार दुबईमा भएको खेलकुद कन्फेरेन्समा बोल्दै रोनाल्डोले आफ्नो सन्यासपछिको सम्भाव्य कामको क्षेत्र फिल्मी क्षेत्र हुने बताएका छन् ।
आफ्नो व्यावसायिक फुटबलको क्यारियरको अन्त्य तिर रहेको र छिट्टै सन्यास लिने हल्ला चलिरहदा रोनाल्डोले तुरुन्तै सन्यासको सम्भावनालाई भने नकारे ।
रोनाल्डोले भने, ‘पहिलो ३०-३२ बर्षमा खेलाडीले सन्यास लिने गर्दथे तर अहिले ४० बर्षसम्म खेलिरहेको देखिन्छ । म शतप्रतिशत फिट रहेसम्म खेल्छु र अहिले म शतप्रतिशत फिट छु ।’
३४ बर्षिय स्ट्राइकरले आफुले आफ्नो खेल जीवनपछि फिल्म क्षेत्रमा जान सक्ने बताए । आफु जहिले पनि नयाँ कुरा सिक्ने प्रयासमा रहने गरेको बताउदै रोनाल्डोले आफुले फिल्ममा अभिनय गर्न सक्ने संकेत गरे । उनले भने, ‘एउटा कुरामा म आफुलाई नै चुनौती दिन सक्छु त्यो हो फिल्ममा अभिनय ।’
रोनाल्डोले फुटबलमा आफ्नो सफलताको कुनै रहस्य नभएको बताउँदै लगातारको कडा मिहिनेतको फल भएको बताए । उनले भने, ‘अहिले ३४ बर्षको उमेरमा पनि मसँग उपाधि जित्ने, गोल गर्ने फिटनेस कायम छ । यो मेरो खेलप्रतिको लगावका कारण नै सम्भव भएको हो ।’
व्यावसायिक खेल जीवनमा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिडमा अत्यन्त सफल रोनाल्डोले पछिल्लो दशकमा विश्व फुटबलमा सधै चर्चामा रहे । उनले अहिलेसम्म प्रतिष्ठित बेलुन डोअर उपाधि जितेका छन् भने कैयौ ऐतिहासिक किर्तिमान बनाएका छन् । पोर्चुगलका लागि युरो कप र नेशन्स कप जिताएका रोनाल्डोले ५ च्याम्पियन्स लिग र ६ लिग उपाधि जितेका छन् ।