डढेलोका कारण अति प्रभावित भएको अस्ट्रेलियाको न्यू साउथ वेल्समा आपतकालीन अवस्था घोषणा भएको छ । राज्यका प्रमुखले एक हप्ताका लागि आपतकालीन अवस्था घोषणा गरेका हुन् ।
तापक्रम थप उच्च हुने तथा तीव्र गतिमा हावा चल्ने पूर्वानुमान गरिएको छ । तापक्रम बढ्दा र तीव्र गतिमा हावा चल्दा डढेलो फैलिने जोखिम थप उच्च हुन्छ । विशेष गरी अस्ट्रेलियाका पूर्वी राज्यमा डढेलोको जोखिम बढी देखिएको छ ।
अस्ट्रेलियामा सेप्टेम्बर यता डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । यस्तै न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा १२ सय भन्दा बढी घर ध्वस्त भएका छन् ।
यो हप्ता फैलिएको डढेलोका कारण कम्तिमा १७ जना बेपत्ता भएका छन् । जोखिमयुक्त क्षेत्रबाट हजारौँ मानिस बिस्थापित भएका छन् ।