मेरी आमाको भाग्यै छैन

आमा मैले तपाईका हातमा
भाग्यका रेखाहरू खोजें
तपाईँका पसिनाबाट टप्केका
मोतीका दानाहरू खोजें
तर पाइनँ आँसुका ढिकाबाहेक
भोक र रोगको कन्तुरमा ।।

डम्बरुबल्लभ पौडेल

पसिनामा मोती फल्छ भन्थें
परिश्रमले भाग्य टल्कन्छ भन्थें
मैले तपाईको टल्केको भाग्य
कहिल्यै देखिनँ आमा
तपाईले पोल्टामा मोती बोकेको
कहिल्यै भेटिन आमा ।।



तपाईले घरलाई मन्दिर बनाउनु भो
भगवानका सन्तान जन्माउनु भो
तर कर्मले मात्र कहाँ हुँदोरछ र धर्म
पति, परमेश्वर खुसी नहुँदा
कहिल्यै पाउनु भएन सुखको आशीर्वाद
सधैँ खियाउनु भो हातका दस नङ्ग्रा
आफ्नो भाग्य आफैं बनाउन
तर भाग्य रेखा मेटिएको थाहै पाउनु भएन ।।

वषौं खोज्नु भयो ढुङ्गा माटोमा आफ्नो भाग्य
वषौं खोज्नु भयो परिश्रम र पसिनामा
आफ्नो सुख
धामी, झाँक्री, ज्योतिषी पनि हेराकै हो
सरकारलाई भोट पनि खसा’कै हो
तर थाहै पाउनु भएन
हातका भाग्य रेखा मेटिएको
थाहै पाउनु भएन
नाम्लाले तालुको भाग्य थेचिएको ।।

आमाको महत्व र पत्नीको धर्म
सुनाइरहे बाठाहरूले
जालझेल र शोषण गरेको थाहै पाउनु भएन
सधंै छोराले तार्ने र सरकारले पाल्ने
भनेको मात्र सुन्दै आउनु भो
न छोराले तार्यो न सरकारले पाल्यो ।
आमा तपाईको हातमा भाग्य रेखै छैन
अनि कहाँ पाउनु हुन्छ त सुख र चैन ।।

सम्बन्धित समाचार