मुक्तिनाथ विकास बैंक लि.ले हालै आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सव बनाएको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारीक रूपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेको बैंकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालकहरू, वर्तमान सञ्चालकहरू, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीहरूको उपस्थिति रहेको थियो ।
साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरूमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू गरेको छ, जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरू तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरूमा डस्विन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरूमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार, अस्पतालमा विरामी कुरूवा बस्ने कुर्सी उपलब्ध गराउने लगायतका सहयोग गरेको छ । यसैगरी बैंकले बागमती सरसफाई, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामाग्रीहरू पनि वितरण गरेको छ । यसै अवसरमा बैंकका क्षेत्रीय÷शाखा कार्यालयहरूले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरू मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरू पनि प्रदान गर्दै आईरहेको छ ।