बिग बास लिगमा मेलवर्न स्टार्सका अलराउन्डर मार्कस स्टोइनिसलाई खेलाडीलाई दुर्व्यबहार गरेको आरोपमा कारवाही गरिएको छ ।
शनिबार सम्पन्न खेलमा मेलवर्न रेनेगेडसका खेलाडी केन रिचार्ड्सनलाई दुर्व्यवहार गरेको आरोपमा अस्ट्रेलियन क्रिकेट बोर्डले स्टोइनिसलाई ७ हजार ५ सय अमेरिकी डलर जरिवानाको सजाय दिएको छ ।
स्टोइनिसलाई व्यक्तिगत दुर्व्यवहारको लेभल २ क्रिकेट अस्ट्रेलियाको कोड अफ कन्डक्ट अनुसार कारवाही गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।
सो खेलमा स्टोइनिसले अविजित ६८ रन बनाउदै मेलवर्न स्टार्सलाई जिताएका थिए । स्टोइनिस जारी लिगमा अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।
बोर्डले कारवाही गरेपछि स्टोइनिसले आफ्नो गल्ति स्वीकार गर्दै आफुले गल्ति गरेको बताएका छन् । उनले आफुले केनमाथि गरेको व्यवहारपछि तुरुन्तै गल्ति महसुस भएको र केनसँग माफी मागेको बताउदै उनले सो घटनामा एम्पायरसँग समेत माफी मागेको बताएका छन् ।
उनले गल्ति स्वीकार गर्दै बोर्डले दिएको सजायसमेत स्वीकार गरेका छन् । जारी लिगमा शिर्ष स्थानमा रहेको स्टार्स अब अर्को खेल जनवरी ८ मा सिड्नी थण्डरसँग मेलवर्न क्रिकेट ग्राउण्डमै हुँदैछ ।