शैक्षिक संस्थामै हवाई आक्रमण हुँदा २८ विद्यार्थी मारिए
लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार त्रिपोलीस्थित मा सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
‘प्रारम्भिक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका छन्, अरु १८ जना घाइते भएका छन्’, लिबियाको एक सरकारी निकायले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघको सहयोगमा रहेको लिबियाली सरकारले प्रकाशन गरेको सो वक्तव्यमा विदेशी हवाई सुरक्षा बलले सो हवाई आक्रमण गरेको जनाइएको छ । उक्त सैन्य बलले त्रिपोलीमा सञ्चालनमा रहेको एक सैन्य विद्यालयलमा नै आक्रमण गरेको बताइएको छ । त्यो विद्यालयलाई लक्ष्य बनाइनुको कारण के हो भन्ने बारेमा केही थाहा भएको छैन ।
राष्ट्रसंघ समर्थित सुरक्षा फौजले आफ्नो आधिकारीक फेसबुक पेजमा मृत्यु भएका र घाइते भएका विद्यार्थीहरुको फोटो पोष्ट गरेको छ । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । लिवियामा चलिरहेको द्वन्द्वका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।