सुलेमानीको हत्या र त्यसले जन्माएको तेस्रो विश्वयुद्धको त्रास

जनरल सुलेमानीको हत्या : केहीदिन अघि बगदाद अन्तर्र्रािष्ट्रय विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिए । अमेरिकाले सुलेमानीलाई ‘आतङ्ककारी’ समूहको नाइकेका रूपमा परिभाषित गरेको थियो । स्वयम् अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएका थिए । इरानी विदेश मन्त्री जावेद जरीफले सुलेमानीको हत्या ‘अन्तर्राष्ट्रिय आतंकवादको कार्य’ भएको प्रतिक्रियासमेत दिएका थिए । यो घटनाभन्दा केही समय अघि नै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेकाले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए ।

को हुन् सुलेमानी ? : इरानले स्वदेशमा तथा विशेषगरी विदेशमा राष्ट्रियताको पक्षमा गतिविधि गर्न भन्दै इरान क्विड नामक विशेष दस्ताको स्थापना गरेको थियो । पछिल्लो समयमा उक्त दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो । इरानको सरकारले सन् १९९८ देखि उक्त दस्ताको नेतृत्व सुलेमानीलाई सुम्पेको थियो । तर पनि उनलाई अमेरिकाले भने आतङ्कवादी व्यक्तिको सूचिमा राख्दै आएको छ ।



उक्त दस्ताले इरानका लागि इरानबाहिरका देशहरूमा गोप्य गतिविधिहरू सञ्चालन गर्ने गरेको छ । यसैकारण अमेरिकाले सो सूचिमा राखेको हुनसक्छ । सुलेमानीले सन् १९८० पछि भएको इरान इराक युद्धमा समेत लडेका थिए । उनलाई इरान सरकारको अति निकटका एक व्यक्तिका रूपमा पनि चिनिन्थ्यो । सुलेमानीले सिरियामा कायम रहेको बसर अल असदको सत्ताका पक्षमा पनि काम गर्दै आएका थिए । साथै त्यहाँ भएको आइएसका विरूद्धमा पनि विशेष कारबाही गर्ने गरेका थिए ।

इरान र अमेरिका एकअर्कालाई धम्की : इरानले अमेरिकी आक्रमणको निन्दा गर्दै आफ्ना शीर्ष कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिकासँग बदला लिने धम्की दिएको छ भने इरानको उक्त धम्कीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानले आक्रमण गरे आफूले इरानलाई समाप्त पारिदिने चेतावनी दिएका छन् । यो आक्रमणमा अमेरिकाले अत्याधुनिक हतियार प्रयोग गर्ने र त्यो इरानले झेल्न पनि नसक्ने अमेरिकाको दाबी रहेको छ ।

‘पागल ट्रम्प, मेरो बुवाको शहादतसँगै सबै समाप्त भयो भनेर नसोच !’: अन्तर्राष्ट्रिय मिडियाका अनुसार अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिमा विशाल जनप्रदर्शन भएको थियो । सोही क्रममा सुलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रूपमा आक्रमण गर्ने भन्दै चेतावनी दिएकी थिइन् । ‘मध्यपूर्वमा रहेका अमेरिकी सिपाहीका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाइमा समय बिताइरहनेछन्’ जेइनपले भनिन् । शोकसभाकै क्रममा उनले मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आक्रमण गर्ने चेतावनीसमेत दिइन् । सम्बोधनको क्रममा उनले भनेकी छन् ’पागल ट्रम्प, मेरो बुवाको शहादतसँगै सबै समाप्त भयो भनेर नसोच !’

अमेरिकी नागरिकलाई इराक छोड्न आदेशः अमेरिकी हवाइ आक्रमणबाट इरानी सेनाका कमाण्डर मारिएपछि इराकस्थित अमेरिकी राजदूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई ‘तत्कालै इराक छाड्न’ आदेश दिएका थिए । साथै, इराकस्थित अमेरिकी दूतावासमा प्रदर्शन बडेपछि अमेरिकाले ३ हजार सेना मध्यपूर्वी क्षेत्रका लागि पठाएको छ ।

इरानी समूहद्वारा अमेरिकी सरकारी वेबसाइट ह्याक : इरानी कमाण्डर कुसाम सुलेमानीको हत्याको बदला लिएको भन्दै आफूलाई ह्याकर भन्ने इरानी एक समूहले अमेरिकी सरकारी वेबसाइट ह्याक गरेको थियो । ‘फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम’ को वेबसाइटलाई ह्याक गर्दै ‘इरानीयन ह्याकर्स’ पेज स्थानान्तरण भएको थियो । जहाँ इरानी नेता अयोतल्लाह अली खमेनी र इरानी झण्डा वेबसाइटमा देख्न सकिन्थ्यो । साथै वेबसाइट खोल्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मुखमा इरानी मुड्कीले हिर्काएपछि रगत आएको तस्वीरसमेत देख्न सकिन्थ्यो ।

ट्रम्पको टाउकोको मूल्य ८ करोड डलर : कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणासमेत गर्यो । सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारणमार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको थियो । इरानले आफ्नो जनसंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकिएको जनाएको थियो ।

चीन, रूस र सिरियाद्वारा निन्दा, पाकिस्तान तटस्थ : इरानी जनरल मारिने गरी भएको आक्रमणलाई चीन, रूस र सिरियाद्वारा निन्दा गरेका छन् । साथै उक्त हवाई आक्रमणको विश्वभर आलोचना भइरहेको छ भने युरोपेली संघले थप हिंसा भड्किन नदिन संवेदनशील बन्न आग्रह गरेको छ । युरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै गम्भीर चासो व्यक्त गरेका छन् । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोंले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनावलाई रोक्न सबैले पहल गर्नुपर्ने बताएका छन् ।

अमेरिका र इरानबीच तनाव बढिरहँदा इरान छिमेकी मुलुक पाकिस्तानले तटस्थ रहने प्रतिक्रिया दिएको छ । दुई देशबीच मुठभेडका बेला पनि पाकिस्तानले आफ्नो भूमि कुनै पनि युद्धको लागि प्रयोग गर्न नदिने जनाएको छ । पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमुद कुरैसीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनका अनुसार बरू पाकिस्तानले दुई देशबीचको तनाव कम गर्न पाकिस्तानले महत्वपूर्ण भूमिका खेल्नेछ ।

सुलेमानी मृत्युको विश्वव्यापी असर : जनरल कासिमको मृत्युपछि इरानको कट्टर शत्रु मानिने इजरायलले आफ्ना सेनालाई उच्च सतर्कता अवस्थामा राखेको छ । इजरायल छिमेकी लेबनानमा रहेका इरानसमर्थित हिज्बुल्ला सेना र गाजाँ क्षेत्रमा रहेको हमासबाट आफूमाथि आक्रमण हुने डरमा छ । इजरायलले अन्य देशमा उपस्थित आफ्ना नेता तथा कुटनीतिज्ञको सुरक्षा व्यवस्था बलियो पार्न आह्वान गरेको छ । रूसले पनि अमेरिकाको कदमले तनाब बढाउने बताएको छ । त्यस्तै मध्यपूर्वी क्षेत्रमा पछिल्लो समय तनाव बढेसँगै बेलायत सरकारले आफ्ना नागरिकहरूलाई इराक र इरान भ्रमण नगर्न सुझाव दिएको छ । कासिमको मृत्यु लगतै विश्व बजारमा तेलको मूल्य वृद्धि भएको छ । नेपालमा पनि सुनको मूल्य उकालो लागेको छ ।

अर्को खाडी युद्धको त्रास हटोस्– राष्ट्रसंघ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अमेरिकाले इराकको सो घटनाले खाडी क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन भनेका छन् । महासचिव गुटर्रेसले निरन्तर रूपमा खाडीमा भइरहेको तनावलाई कम गर्न संयुक्त राष्ट्रसंघले पनि निरन्तर पैरवी गरिरहेको बताएका छन् ।

तेस्रो विश्वयुद्धको त्रास: अमेरिका र इरानबीचको बढ्दो विवादले गर्दा पछिल्लो समयमा विश्व समुदायको ध्यान त्यसैमा बढी केन्द्रित भएको छ । एक अर्कासँग मिलेर समस्या समाधानको साटो दुबैले धम्की र युद्धको चेतावनी दिदै आएका छन् । अमेरिका र इराकको सम्बन्ध बिग्रदै गएपछि धेरै जसोले तेस्रो विश्व युद्धको संकेतका रूपमा पनि लिएका छन् । जुनमा अस्ट्रिया–हंगेरीका युवराज फर्डिनान्डको सर्वियाली अभियन्ताबाट हत्या भएपछि १९१४ पहिलो विश्वयुद्ध सुरू भएको थियो । अहिले सुलेमानको हत्याले पनि फर्डिनान्डको हत्यापछिको अवस्था निम्तिन सक्ने भन्दै मानिसहरू डर व्यक्त गर्न लागेका छन् ।

अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण : अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि बदला लिने धम्की दिँदै आएको इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । सञ्चार माध्यमहरूका अनुसार पश्चिमी इराकको इन् अल आसाद र इरविलकास्थित अमेरिकी गठबन्धन सेनाका दुई बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको छ । इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । यता अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ । अहिले क्षतिको विवरण आँकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ ।

कायरतापूर्ण आक्रमणको जवाफ : इरान
इरानी विदेश मन्त्री मोहमद जाभेद जारिफले इरानले आत्मरक्षाको नीति अनुसार अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको बताएका छन् । ट्विट गर्दै उनले अहिलेको आक्रमण अमेरिकाले इरानी अधिकारी र जनतामाथि गरेको कायरतापूर्ण आक्रमणको जवाफ दिएको भनेका छन् । आफ्नो जवाफी कारवाही संयुक्त राष्ट्रसंघ बडापत्र धारा ५१ ले उल्लेख गरेको अत्मरक्षाको नीति मुताविक भएको दाबी गरेका छन् । जारिफले भनेका छन्– इरान कुनै युद्ध र तनावको खोजीमा छैन तर कुनै पनि आक्रमको आत्मरक्षाका लागि हामी तयार छौं ।

‘अल इज वेल’ : ट्रम्प इरानले इराकस्थित अमेरिकी सेनाको दुई बेस क्याम्पमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो ट्विट गरेका छन् । बुधबार बिहान ट्विट गर्दै ट्रम्पले आफूहरूसँग विश्वकै शक्तिशाली र स्रोत साधन सम्पन्न सेना रहेको भन्दै चेतावनी दिएका छन् । ट्रम्पले ट्विटरमा लेखेका छन्– ‘सबै ठिकै छ, इरानबाट इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा मिसाइल प्रहार भयो । हताहती र क्षतिको आँकलन भइरहेको छ । हामीसँग विश्वकै शक्तिशाली र स्रोत साधन सम्पन्न सेना छन् ।’

सम्बन्धित समाचार