

पछिल्लो समय अस्ट्रेलिया लामो समयको डढेलोको कारण समस्यामा छ । डढेलो कैकारण कैयौँ मानिसको ज्यान गएको छ भने ५० करोड भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको छ । बचेकालाई पनि खाद्यान्नको अभाव रहेको जनाइएको छ ।
सो आगलागीमा अनुमानित ४८० मिलियन जनावर प्रभावित भएको विज्ञहरुले बताउँदै आएका छन् ।
न्यू साउथ वेल्समा मात्रै ५० करोड जनावर आगलागीबाट प्रभावित भएका छन् । पोटोरु प्यालेस नेचर सेन्चुरीका जोहन मार्सका अनुसार बचेका जनावरको पनि भविश्य अनिश्चित देखिएको छ ।
अस्ट्रेलियामा डढेलोकै कारण पानीको हाहाकार मच्चिएको छ । एकातिर सुख्खा मौसममा पानी पाउन मुस्किल भएको र डढेलो निभाउन अत्यधिक पानीको खपत भएपछी समस्या देखिएको छ ।
पानीको हाहाकार भएपछि पानीको बढी खपत गर्ने १० हजार ऊँटलाई सरकारले गोली हानी मार्ने निर्णय गरेको छ । हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएको छ।
सुख्खा मौसमका कारण पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या झनै बढेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।
यसअघि पनि अस्ट्रेलियामा ऊँट मार्ने चलन थियो । जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने गरिन्छ । यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गोली हानी मारिने एबीसी न्युजले जनाएको छ। दश हजार ऊँट मार्न पाँच दिन लाग्ने जनाइएको छ ।
अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ । १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो ।
