

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो दाबेदारीलाई वास्ता नगरिएको भन्दै गुनासो पनि व्यक्त गरेका छन् ।
नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन् । ओहायोको टोलेडोमा आफ्ना समर्थकसँग ट्रम्पले भने, ‘म तपाईंहरुलाई नोबेल शान्ति पुरस्कारको विषयमा बताउन चाहन्छु । मैले एक देशलाई बचाए र त्यसपछि त्यही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिन गइरहेको कुरा थाहा पाएँ, देशलाई बचाए बापत । त्यसपछि मैले यसबारेमा केही गर्न सक्छु कि भनेर सोचेँ । तर मैले गर्दा नै एउटा ठूलो युद्ध टरेको हो, यसबारेमा कसैलाई थाहा छैन ।’
डोनाल्ड ट्रम्पले न त नोबेल पुरस्कार विजेताको नाम लिए न त त्यस देशको नाम नै लिए । तर उनले इथोपियाका प्रधानमन्त्री अबी अहमदको बारेमा कुरा गरिरहेको प्रस्ट हुन्थ्यो । ४३ वर्षीय अहमद अफ्रिकामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् ।
अबी अहमद सन् २०१८ अप्रिलमा इथोपियामा महिनौंसम्म सरकार विरोधी प्रदर्शनपछि प्रधानमन्त्री बनेका थिए । विरोध प्रदर्शनका क्रममा इथोपियाका पूर्व प्रधानमन्त्रीले पद छोड्नु परेको थियो ।
