नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुष ।
न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।
गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलको पहिलो सेट २५–२० , दोस्रो सेट २५–२३ ले जितेको एपीएफले तेस्रो तथा अन्तिम सेटमा २५–१८ को अंकमा न्यू डायमण्डलाई पराजित गरेको हो । एपीएफलाई च्याम्पियन बनाउन योगदान गरेकी नेपाली राष्ट्रिय टिमकी सदस्य सरस्वती चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन् ।
उपाधि विजेता एपीएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता न्यू डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँ पाएको छ ।