भारतीय क्रिकेटमा अहिले पुर्व कप्तान महेन्द्र सिंह धोनी चर्चाको शिखरमा रहेका छन् ।
भारतीय क्रिकेट बोर्डले विहिबार सार्वजनिक गरेको २७ खेलाडीको सेन्ट्रल कन्ट्रयाकमा धोनीको नाम नभएपछि धोनीको सन्यास बारे अनेकौ अड्कल बाजी शुरु भएका छन् । गत बर्ष सम्पन्न विश्वकपमा न्युजील्याण्डविरुद्ध सेमिफाइनलमा खेलेपछि धोनीले अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।
अब अहिले भारतीय मिडियादेखि सामाजिक संजालमा धोनीको सन्यास बारे अनेक किसिमले बहस भइरहेको छ । क्रिकेट विश्लेषकहरु, पुर्व खेलाडीहरुको सामाजिक संजालका स्ट्याटस हेर्दा धोनी अब फेरी भारतको जर्सी लगाएर क्रिकेट मैदानमा देखिने छैनन् । तर उनका फ्यानहरु र समस्त क्रिकेट प्रेमीहरु धोनीलाई यसै बर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा खेलेको हेर्न चाहन्छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीले धोनीका बारेमा बोर्ड, टिम व्यवस्थापन र धोनीबीच कुनै समस्या नरहेको स्पष्ट गरेका छन् । तर उनले धोनीको भविष्य बारे स्पष्ट रुपमा यस्तै हुन्छ भनेर भनेका छैनन् । अध्यक्ष गांगुलीले धोनी जस्ता ठुला खेलाडी बारेको धारणा गोप्य राख्दा नै राम्रो हुने भन्दै धोनीका बारेमा कुनै किसिमको असमझदारी नरहेको स्पष्ट गरेका छन् ।
अब ३८ बर्षका धोनी पहिला जस्तै नियमित क्रिकेट खेल्छन् भन्ने कुरा त विश्वास गर्न सकिन्न तर अब सबैको चासो टी-२० विश्वकप खेलून भन्नेमा रहेको देखिन्छ । वरिष्ठ क्रिकेट कमेन्टेटर हर्ष भोगलेले सेन्ट्रल कन्ट्रयाक नपाएपछि धोनीको क्यारियर अन्त्य भएको डर लागेको उल्लेख गरेका छन् । उनले आइपिएलमा धोनीको उत्कृष्ट फर्म देख्न चाहेको बताएका छन् ।
त्यस्तै पुर्व क्रिकेटर हरभजन सिंहले पनि धोनी अब फेरी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेमा आफु विस्वस्त नभएको बताएका छन् । उनले भनेका छन् –’धोनीको अन्तर्राष्ट्रिय क्रिकेट क्यारियर २०१९ को विश्वकप सम्म नै थियो । मलाई लाग्छ की धोनी अब फेरी मैदानमा फर्किने छैनन् ।’
बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा धोनी गत बर्ष ए श्रेणीमा थिए । तिनै फर्म्याटका खेल खेल्ने तीन खेलाडीलाई ए प्लस श्रेणीमा राखिएको छ । त्यस्तै धोनीलाई कन्ट्रयाक्टबाट हटाउनु पैसाको कुरा भन्दा पनि धोनीको क्यारियरसँग जोडेर हेरिएको छ र विश्लेषण गरिएको छ । तर भारतीय टिममा खेल्ने र सेन्ट्रल कन्ट्रयाक्टसँग सिधै सम्बन्ध भने नरहेको पनि विश्लेषण भइरहेको छ । धोनी बोर्डको कन्ट्रयाक्टमा नभएको भएपनि भारतीय टिमबाट फेरी खेल्न सक्ने बताइएको छ ।
अहिले भारत अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज खेलिरहेको छ । यस पछि भारत न्युजील्याण्ड टुरमा जादै छ । सो टिममा समेत धोनीको नाम छैन । यस अर्थमा कम्तिमा अर्को दुई महिना धोनी भारतीय टिमको हिस्सा हुने छैनन् ।
यसैबीच धोनीले विहिबार नै झारखण्ड रणजी टिमसँग अभ्यास शुरु गरेको खबरले उनका फ्यानहरु उत्तेजित भएका छन् । यससँगै आगामी मार्चको अन्त्यबाट शुरु हुने आइपिएलको तयारीमा धोनी जुटेको समेत बताइएको छ ।
धोनीले भारतका लागि ९० टेस्ट खेलेका छन् भने ३५० एकदिवसीय र ९८ टी-२० खेल खेलेका छन् । भारतलाई पहिलो टी-२० विश्वकप, २०११ को विश्वकप र टेस्टमा नम्बर एक टिम बनाउने श्रेय धोनीलाई जान्छ । टेस्ट क्रिकेटबाट २०१४ मै सन्यास लिएका धोनी टेस्टमा ४८७६ रन, एकदिवसीय खेलमा १०,७७३ रन र टी-२० मा १६१७ बनाएका छन् ।