रुघाखोकी र ज्वरोको औषधि नपाउँदा हुम्लामा ५ जनाको मृत्यु

हुम्लामा रुघाखोकी र ज्वरोको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हुम्लाको चंखेली गाउँपालिकामा रुघाखोकीको संक्रमणबाट ५ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । हिमपातका कारण हुम्लामा अत्याधिक चिसोसमेत रहेको छ ।

चंखेली गाउँपालिकामा रुघाकोखीको संक्रमण भएका व्यक्तिलाई खुवाउने सिटामोल समेत नभएपछि ५ जनाको मृत्यु भएको हमालले बताए ।



‘माघ यता हुम्लामा ५ जनाको मृत्यु भएको छ, रुघाकोखीको कारणले मृत्यु भएको भन्ने सुनेका छौं,’ सहायक प्रमूख जिल्ला अधिकारी हमालले भने, ‘त्यहाँ पुग्न नै हिँडेर तीन दिन लाग्छ, औषधि नपाएर नै मृत्यु भएको भनेर हामीले केही दिन अघि मात्र जानकारी पाएका हौं ।’

रुघाकोखी तथा ज्वरोको औषधि समेत नपाएर मानिसको मृत्यु भएपपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशलाई पनि औषधि पठाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

चंखेली गाउँपालिकामा रुघाखोकी र भाइरस ज्वरोको संक्रमण बढेपछि जिल्ला सदरमुकामबाट स्वास्थ्यमर्कीको टोली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

सम्बन्धित समाचार