चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि मानिसहरुमा त्रास फैलिएको छ । चीनमा मात्र कोरोना भाइरसका १३२ जनाको मृत्यु भइसकेको छ भने ६ हजारभन्दा बढी बिरामी छन् ।
नोबेल कोरोना नाम दिइएको यो भाइरस नियन्त्रण हुनुको साटो थप फैलिँदै गएपछि चीनसहित संक्रमण फैलिएका मुलुकहरुमा मानिसहरुले आफ्नो खानेकुरालगायत दैनिक उपभोग्य सामग्रहरु स्टोर गर्न थालेका छन् । उनीहरुले बजारमा भएको सामान घरमा स्टोर गर्न थालेपछि बजार रित्तिन थालेको सीएनएनले जनाएको छ ।
चीनमा नयाँ वर्षका लागि दिइएको बिदा लम्ब्याइएको छ । चीनमा थप केही हप्ताका लागि बिदाको समय बढाइएको छ । भारस सर्ने त्रासले मानिसहरु घरबाहिर निस्किन छोडेका छन् । चीनका वुहानसहित १५ वटा सहरमा यातायात तथा आवतजावतमा प्रतिबन्ध लगाइएको छ ।
हङकङका सुरमार्केट तथा खद्रा पसलहरु मंगलबार नै रित्तिएका दृश्यहरु सार्वजनिक भएका थिए । हङकङले मंगलबार चीनसँगको सीमानाका अस्थायी रुपमा प्रतिबन्ध गर्ने घोषणा गरेको थियो ।
मास्क अभाव
एसियामात्र होइन संयुक्त राज्य अमेरिकाको टेक्सासमा समेत मेडिकल मास्कको अभाव भइरहेको छ । अमेरिकामा पनि कोरोनाको संक्रमण देखिएको छ ।
चीनमा पनि मेडिकल मास्कको अभाव भएको छ । चीनमा मानिसहरुले विदेशमा भएका आफन्तहरुलाई मेल गरेर मास्क पठाइदिन आग्रह गरिरहेका छन् ।
वुहानका अस्पतालहरुमा पनि कोरोनाका बिरामीहरुको चाप निकै बढेपछि औषधीसमेत अभाव हुन थालेको छ । चिनियाँ अधिकारीहरुले भने यस साता त्यहाँ चिकित्सक र औषधी थप गरिएको बताएका छन् । – सीएनएन