प्रिती जिन्टाले अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँग टक्कर लिएपछि ….

आज ३१ जनवरी, बलिउड अभिनेत्री प्रिती विन्टाको जन्मदिन हो । ३१ जनवरी १९७५ मा जन्मिएकी प्रिती आज ४५ वर्ष पूरा भएर ४६ औं वर्षमा लागिन् । प्रितीले बलिउडमा धेरै फिल्ममा काम गरिन् । यद्यपि उनको जीवनको एक घटना भने अहिलेसम्म चर्चाको विषय बनिरहन्छ । त्यतिबेला प्रितीले सिधै अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँग टक्कर लिएकी थिइन् ।

घटना २००१ मा रिलिज भएको फिल्म ‘चोरी–चोरी, चुपके–चुपके’को सुटिङका बेलाको हो । यो फिल्ममा प्रिती जिन्टा, रानी मुखर्जी र सलमान खान मुख्य भूमिकामा थिए । फिल्मलाई अब्बास मस्तानले निर्देशन गरिरहेका थिए । कागजमा उल्लेख भएअनुसार फिल्ममा हीरा व्यवसायी भरत शाह र निर्माता नाजिम रिजवीले लगानी गरेका थिए । तर, वास्तविकतामा फिल्ममा अण्डरवर्ल्ड डन छोटा शकीलको पैसा लगानी भएको थियो । छोटा शकिल डन दाउद इब्राहिमका दाहिने हात र डी कम्पनीमा दोस्रो स्थानका डन हुन् ।



जतिबेला फिल्म उद्योगका हस्ती सलमान खान, शाहरुख खान, राकेश रोशन लगायत छोटा शकिलको विरुद्ध अदालतमा बयान दिन पछि हटेका थिए त्यतिबेला प्रिती जिन्टाले अदालतमा छोटा शकिलविरुद्ध बयान दिएकी थिइन् । प्रितीले आफूलाई डी कम्पनीको तर्फबाट धम्कीपूर्ण फोन आएको विषयमा अदालतमा बयान दिएकी थिइन् । अदालतले यो विषय अण्डरवर्ल्डसँग सम्बन्धित भएका कारण प्रितीको बयान भिडियो रेकर्ड गराएको थियो ।

प्रितीको बयानको आधारमा भरत शाहलाई गिरफ्तार गरिएको थियो । शाहलाई फिल्मी हस्तीहरुसँग जबरजस्ती असुली गरेको आरोपमा गिरफ्तार गरिएको थियो । अर्का लगानीकर्ता नाजिम रिजवीलाई पनि यसमा बराबर दोषी पाइएको थियो । शाहलाई आइपीसी धारा ११८ अन्तर्गत मुद्दा चलाइएको थियो भने रिजवीको डन छोटा शकिलसँग सम्बन्ध रहेको पाइएको थियो । अदालतले नाजिम रिजवीलाई अण्डरवर्ल्डसँग सम्बन्ध राखेकोमा दोषी पाइएको थियो । त्यतिबेला प्रितीको हिम्मतका कारण बलिउडमा हलचल आएको थियो । पछि प्रितीले भारतीय मिडिया इण्डिया टुडेसँग कुरा गरेकी थिइन् ।

सम्बन्धित समाचार