किशोरावस्थाको यौन सम्बन्धले सरकारलाई तनाव, विद्यार्थीसँग ‘संयम’ अपनाउन अपिल

किशोरावस्थाको गर्भधारण र एचआइभीको बढ्दो संक्रमणका कारण ब्राजिल सरकार आफ्नो देशका किशोरकिशोरीहरुको लागि निकै चिन्तित देखिएको छ । अहिले सरकारले यहाँका विद्यार्थीहरुसँग यौन सम्बन्धको लागि बिहेसम्म पर्खिन आग्रह गरेको छ । ब्राजिलका मानवअधिकार र परिवार मन्त्री डामारेस एल्भेसले युवाहरुलाई संयम अपनाउन सल्लाह दिँदै भने ‘हाम्रो देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध बनाइरहेका छन् । तपाइँ यौन सम्बन्ध बिना पनि पार्टीमा कैयौं किसिमका मजा लिन सक्नुहुन्छ ।’

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार आफ्नो नीति बनाउनको लागि उनले ‘आइ चुज टु वेट’ नामको एक अभियान सुरु गरेका छन् । यो अभियानका लागि उनले सामाजिक संजालमा धेरै फलोअर भएका चर्चका पादरीहरुसँग सल्लाह लिएका छन् । साथमा डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाको बारेमा बहस सुरु गरेका छन् । प्रतिपक्षी दल र आलोचकहरुले भने यौनमा संयम अपनाउने कुरामा जोड दिएर युवाहरुलाई गलत तरिकाले यौनका बारे सम्झाउन लागिएको बताएका छन् । उनीहरुले यो युवाको स्वास्थ्यको लागि हानीकारक हुन सक्ने बताएका छन् ।



ब्राजिलका कानुन विषयका प्राध्यापक तथा सामाजिक कार्यकर्ता देबोरा डिनिजका अनुसार यौनका विषयमा अहिलेसम्म बनेका सबै संयम नीतिहरु न केवल निष्प्रभावी छन्, किशोरावस्थाको गर्भ र यौन सम्बन्धित रोगहरुमा पनि यिनीहरु असफल साबित भएका छन् । डिनिजका अनुसार धार्मिक मान्यताको आधारमा सरकारी नीति बनाउने कोसिस भइरहेको छ । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीहरु भने उनका बाम्पन्थी प्रतिद्वन्द्वीहरुले कम उमेरमा यौन सम्बन्ध राख्न किशोरहरुलाई प्रोत्साहित गरेको आरोप लगाउँछन् । उता विशेषज्ञहरु सरकारले अहिले सुरु गरेको अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउन अहिलेसम्म गरिएको प्रयासलाई नोक्सान पुर्याउन सक्ने बताउँछन् ।

ब्राजिलको किशोर गर्भावस्था दर विश्वमै सबैभन्दा अधिक छ । बाँकी विश्वको किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलको यो दर ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमणका घटना पनि दिन प्रतिदिन बढिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २०१८ मा यौन सम्बन्धित रोगका ४३ हजार ९२१ नयाँ केस भेटिएका थिए । यो २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्भेसका अनुसार सरकारले विद्यमान गर्भनिरोधका विधिहरुका अलावा नयाँ गर्भनिरोधक उपाय ल्याउनेमा पनि जोड दिइरहेको छ । उनका अनुसार सरकारको उद्देश्य नागरिकमाथि आफ्ना नीति थोप्ने नभइ उनीहरुलाई सूचित र शिक्षित गर्ने हो ।

ब्राजिलमा १५ वर्ष उमेरसम्मका अधिकांश किशोरीहरुका बच्चा छन् । यी किशोरी आमाहरुको लागि छुट्टै किसिमको होम स्कुलिङ कार्यक्रम संचालन गरिएका छन् ताकि उनीहरु बच्चालाई हुर्काउँदै गर्दा पढ्न पनि सकुन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एउटा बच्चा जन्माएकी थिइन् । लारिसा किशोर अवस्थामा सरकारको गर्भ निरोधक सन्देश निकै उपयोगी भए पनि मानिसहरुले यसलाई मान्न नचाहने बताउँछिन् । लारिसाका अनुसार उनको कक्षाका लगभग सबैजसो केटी साथीहरु गर्भवती छन् । उनले यहाँ मानिसहरुसम्म गर्भनिरोधक पुर्याउनु जरुरी रहेको बताइन् ।

ब्राजिलमा यौनमा संयम अभियान अर्को महिनादेखि सुरु गरिनेछ । क्याबिनेट मन्त्री एल्भिस अमेरिकामा यस प्रकारका संयम अभियान प्रभावकारी रहेको बताउँछन् । रटगर्स युनिभर्सिटीकी प्राध्यापक तथा किशोर गर्भावस्थाका विषयमा प्रमुखताका साथ आफ्नो राय राख्ने लेस्ली कान्टोरका अनुसार किशोर गर्भावस्थाका विषयमा मन्त्रीहरुको दावी गलत छ । कान्टोर थोरै अनुसन्धानको आधारमा यो मुद्दा राजनीतिक फाइदाको लागि बनाइएको बताउँछिन् । स्कुलमै यौन शिक्षा नलिएको भए स्कुलपछि यस्तो शिक्षा लिन कसैलाई चासो नहुने उनले बताइन् ।

सम्बन्धित समाचार