लियोनेल मेसीले बार्सिलोनाका स्पोर्टिंग निर्देशकलाई गरेको कटाक्षपछि बार्सिलोना क्लबमा हलचल मच्चिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
मेसीको रियाक्सनलाई उनले बार्सिलोना छोड्ने सक्ने रुपमा समेत चर्चा गर्न शुरु गरिएको छ । बार्सिलोनाका स्पोर्टिंग निर्देशक इरिक एबिडालले पुर्व प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेसँग खेलाडी असन्तुष्ट रहेकाले उनलाई बर्खास्त गरिएको अन्तर्वार्ता दिएपछि मेसी उनीमाथि खनिएका थिए ।
मेसीको प्रतिक्रियापछि विश्वका अन्य क्लबहरु मेसीलाई साइन गराउन सकिन्छ कि भन्ने सम्भावनाहरु खोज्न जुटेको इएसपीएनले लेखेको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका घटनाक्रमलाई नजिकबाट हेरेको उल्लेख गर्दै इएसपीएनले मेसीको सम्भावित बार्सिलोना बहिर्गमनको फाइदा लिने तयारीमा रहेको उल्लेख गरेको छ ।
मेसीको बार्सिलोनासँग अर्को सिजनको अन्त्यसम्म सम्झौता रहेको छ भने बार्सिलोनासँगको सम्झौतामा सिजनको अन्त्यमा मेसी निशुल्क अन्य क्लबमा जान सक्ने शर्त रहेको बताइएको छ ।
हाल सिटीका प्रशिक्षक रहेका पेप गुआर्डीओलाको बार्सिलोनाको उच्च व्यवस्थापनसँग राम्रो सम्बन्ध रहेकाले सो को फाइदा उठाउने दाउमा सिटी रहेको उल्लेख गरिएको छ ।
मेसी र पेपले चार सिजनमा सँगै तीन पटक स्पेनिस ला लिगा र दुई पटक च्याम्पियन्स लिग जितेका छन् ।
म्यानचेस्टर सिटी विश्वका केहि सिमित क्लबमा पर्दछ जसले मेसीको बार्षिक करिब ६४ मिलियन डलरको पारिश्रमिक दिने हैसियत राख्दछ ।