भारतको राजधानी दिल्ली विधान सभा निर्वाचनको मतपरिणाम आउन थालेको छ। मतदानपछि नै त्यहाँस्थित सञ्चारमाध्यमहरुले गरेको एक्जिट पोलमा अरबिन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले स्पष्ट बहुमत ल्याउने आँकलन गरेका थिए । ताजा अवस्थामा आपले अहिलेसम्म ७० सिटमध्ये ५८ वटामा अग्रता बनाइरहेको छ । त्यसैगरी भाजपाले १२ वटामा अग्रता कायम गरेको छ । कांग्रेस पार्टीले भने एकै सिटमा पनि अग्रता बनाउन असफल भएको छ । मंगलबारदेखि सुरु भएको मतगणनामा आपले स्पष्ट बहुमत ल्याउने अवस्था देखिएको हो । विगत ३ वर्षमा अरबिन्द केजरिवाल नेतृत्वको सरकारले दिल्लीबासीको खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात र आधारभूत मानवीय आवश्यकताको पूर्तिका लागि गरेको कडा मिहिनेतलाई त्यहाँका जनताले सम्मान गरेका छन् ।
आपले स्पष्ट बहुमत ल्याउने अवस्था देखिए पनि अघिल्लो चुनावमा पकड जमाएका १० वटा निर्वाचन क्षेत्र भने गुमाउने अवस्था देखिएको छ । भाजपाले अघिल्लो निर्वाचनमा ३ सिटमा मात्रै जित निकालेको थियो । उसले यस पटक १० भन्दा धेरै सिट जित्ने अवस्था देखिएको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जस्तै एक सिट पनि जित्न नसक्ने देखिएको छ । ७० विधानसभा सिटका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो । दिल्लीबासीमध्ये ६२.५९ प्रतिशतले मतदान गरेका थिए ।
दिल्लीमा अहिले केजरिवाल नेतृत्वमा आपको सरकार छ । यसअघि दिल्लीमा भाजपाले २२ वर्ष र कांग्रेसले ७ वर्ष शासन गरेका थिए । मुख्यमन्त्री अरविन्द केजरीवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्दैछन् । पहिलो पटक उनी सन् २०१३ मा ४८ दिन यो पदमा रहेका थिए । तर उनले राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए । उनले दोस्रो पटक १४ फेब्रुअरी २०१५ मा उनले फेरि सत्ता सम्हालेका थिए ।