कोरोना महामारीः मृतकको संख्या ११ सय नाघ्यो, डब्ल्यूएचओको टोली चीन पुग्यो

चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ ।

यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित फेला परेका छन ।



योसँगै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका काम थालेको छ ।

अन्तर्राष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो । ज्यान गुमाउनेको सङ्ख्या ११ सय नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गर्दै आएको छ ।

तथ्यांक लुकाएको आरोप
चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ । चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव जलाएको हुनसक्ने ताइवानबाट प्रकाशित ताइवान न्यूजले लेखेको हो ।

वुहान शहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको जनाइएको छ । ताइवान न्युजले ‘विण्डी डटकम’ ले अन्तरिक्षबाट खिचेको तस्बीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढि पाइएको उल्लेख छ ।

सम्बन्धित समाचार