अली अब्बासले बनाउने भए मिस्टर इंडिया-२, को बन्ला मिस्टर इंडिया ?

सन् १९८७ को सुपरहिट फिल्म मिस्टर इंडियाको अर्को भाग बन्ने भएको छ । फिल्म निर्माण भएको ३३ बर्ष पुगिसक्दा पनि अमित छाप छोड्न सफल मिस्टर इंडिया-२ सिक्वेल र रिमेक दुवै नभएको बलिवुड हंगामाले लेखेको छ । तर फिल्मलाई अहिलेको समय अनुसार बनाउन थालिएको बताइएको छ ।

मिस्टर इंडिया-२ लाई बलिवुडका चर्चित फिल्म निर्देशक अली अब्बास जाफरले निर्देशन गर्ने भएका छन् भने मिस्टर इंडियाको भूमिका रणवीर सिंहले निभाउने भएका छन् । फिल्मलाई जी स्टुडियोजले निर्माण गर्ने बताइएको छ ।



मिस्टर इंडियामा अनिल कपुरले आइकोनिक भूमिका निभाएका थिए । फिल्म अहिले प्रि-प्रोडक्सन स्टेजमा रहेको बताइएको छ भने निर्देशक अलीले फिल्मको स्क्रिप्ट फाइनल गरिसकेको बताइएको छ । फिल्मको अर्को चर्चित क्यारेक्टर ‘मोग्याम्बो’ को लागि सहि पात्रको खोजि भैरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्राप्त मिडिया रिपोर्ट अनुसार मिस्टर इंडिया-२ २०२२ को दिपावलीमा रिलिज हुनसक्ने बताइएको छ । अली निर्देशित भारत गत बर्ष रिलिज भएको थियो भने त्यसपछि अली अन्य फिल्ममा काम गरिरहेका छैनन् । त्यस्तै रणवीर सिंह भने कपिलदेवको जीवनीमा आधारित ८३ को शुटिंग सकेका छन् भने उनको अर्को फिल्म जयेशभाई जोरदारको पनि पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

अली र रणवीरले यस अघि फिल्म गुण्डेमा सँगै काम गरेका थिए । अलीले त्यसपछि सलमान खानसँग तीन फिल्म सुल्तान, टाइगर जिन्दा है र भारत बनाएका थिए । अलीले अहिले महिला सुपर हिरोमा आधारित फिल्म बनाउने तयारी गरिरहेका छन् । यस फिल्मका लागि उनले कट्रिना कैफलाई लिने तय गरिसकेको बताइएको छ ।

सम्बन्धित समाचार