कोरोना भाइरस: ज्यान गुमाउनेको सङ्ख्या १८ सय नाघ्यो

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ६८ पुगेको छ । चीनको स्वास्थ्य आयोगले जनाए अनुसार सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ ।

कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक-एक जनाको ज्यान गएको छ । बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएको छ । यो सङ्ख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो ।



सञ्चार संस्था अल जजिराले सोमबार प्रकाशित गरेको एक प्रतिवेदनअनुसार कोरोनाको प्रकोप रोक्न खटिएका डाक्टर र नर्सले कठिनाइको सामना गरिरहेका छन् । गएको १४ फेब्रुअरीमा सरकारी तथ्याङ्कले कोरोना सङ्क्रमितको उपचारमा खटिएका एक हजार सात सय १६ जना चिकित्सक सङ्क्रमित भएको देखाएको थियो ।

गम्भीर अवस्थामा झण्डै आधा बिरामीले ज्यान गुमाउने गरेका छन् । ८० प्रतिशतभन्दा बढी बिरामी हल्का लक्षण देखिएपछि ठिक हुने गरेका छन् । १४ प्रतिशत निमोनिया जस्तो गम्भीर र जटिल समस्याबाट पीडित हुने गरेका छन् । पाँच प्रतिशत गम्भीर स्थितिमा छन् र दुई प्रतिशत रोगबाट मर्ने गरेको चिनियाँ स्वास्थ्य तथ्याङ्कले देखाउँछ ।

सम्बन्धित समाचार