रिक्सा मजदुरको कथामा बनेको ‘धुलो’ को ट्रेलर सार्वजनिक

‘धुलो’ फिल्मको ट्रेलर राजधानीमा मंगलबार आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ । नेपाल टेलिभिजनमा वरिष्ठ क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म १६ फागुनमा प्रदर्शन हुँदैछ ।

राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अवस्थाको बिषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।



चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभइ यथार्थ जीवनका कथामा बुनिएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।

निर्माता संघका अध्यक्ष अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउँदै फिल्म राम्रो बिषयबस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको सुनाए । उनले यो फिल्मले कलात्मक पाटोलाई सजिव ढंगले प्रस्तुत गरेकाले सबैलाई एकपटक हेर्न अनुरोध गरे ।

कार्यक्रममा चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशव मिश्र, गायक युवराज चौलागाई,प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।

सम्बन्धित समाचार