विश्व फुटबलमा एर्लिंग ब्राउट हाल्याण्डको रुपमा नयाँ ग्लोबल सुपरस्टारको उदय भएको छ । गत जनवरीमा अस्ट्रेलियाको क्लब रेड बुल साल्जबर्गबाट जर्मनी क्लब डोर्टमण्डमा आएका हाल्याण्डले जर्मनीमा सनसनीपूर्ण शुरुवात गर्दै मेसी र रोनाल्डको इराको उतरार्धमा उनीहरु पछिको नयाँ सुपरस्टार भएको संकेत दिदै दशकौ देखि मेसी-रोनाल्डोले थामेको विरासत थाम्ने खेलाडीको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।
गएराती च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा नेइमार र एम्बाप्पे जस्ता सुपरस्टार खेलाडीले भरिएको टिम पिएसजीलाई २-१ ले पराजित गर्नेक्रममा हाल्याण्डले २ गोल गरेर पिएसजीलाई च्याम्पियन्स लिगबाट बाहिर पठाउने बाटो तिर लगेका छन् ।
यो यस कारण पनि महत्वपूर्ण छ अहिलेको विश्व फुटबलमा नेइमार मेसी र रोनाल्डोपछिका ठुला खेलाडी मानिन्छन् भने एम्बाप्पे पनि उदीयमान सेन्सेसन हुन् । तर यस खेलमा भने एम्बाप्पेलाई पछि पार्दै हाल्याण्डले बाजी मारेका छन् ।
डोर्टमण्ड आएको एक महिनामा नै हाल्याण्डले ७ खेल खेल्दै ११ गोल गरिसकेका छन् । पिएसजीलाई रोकेर उनले विश्व फुटबलमा नयाँ सुपरस्टारको उदय भएको संकेत मात्र दिएका छैनन्, डोर्टमण्डलाई च्याम्पियन्स लिगमा अगाडी लैजाने बाटो पनि खोलेका छन् ।
उनले जर्मनी लिगमा अहिलेसम्म ५ खेल खेल्दै ८ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा २ तथा अन्य खेलमा एक गोल गरेका छन् ।
यस अघि रेड बुलबाट २७ खेल खेल्दै २९ गोल गरेका हाल्याण्डले अहिलेसम्म क्यारियरमा क्लब फुटबलमा सय खेल खेल्दै ६० गोल गरेका छन् ।
को हुन् हाल्याण्ड ?
१९ बर्षिय युवा खेलाडी हाल्याण्ड नर्वेका खेलाडी हुन् । उनका पिता पनि फुटबलर नै थिए । उनका पिता अल्फ इंग हाल्याण्डले नोटिंघम फरेष्ट, लीड्स युनाइटेड, म्यानचेस्टर युनाइटेड जस्ता क्लबबाट डिफेन्डरको रुपमा खेलेका थिए । हाल्याण्डको जन्म लिड्समा नै भएको थियो ।
उनले एक अन्तर्वार्तामा आफुले लिड्सका लागि प्रिमियर लिग जित्न चाहेको आफ्नो सपना रहेको बताएका थिए । उनी लिड्समा जन्मिएको भएपनि तीन बर्षको उमेरमा नै परिवारसहित नर्वे फर्किएका थिए ।
डोर्टमण्ड आउनुअघि हाल्याण्डलाई म्यानचेस्टर युनाइटेडले पनि भित्र्याउने इच्छा देखाएको थियो । तर डोर्टमण्डले नियमित खेलाउने र आफ्नो प्रमुख स्ट्राइकर बनाउने अफर गरेपछि उनी डोर्टमण्ड गएका थिए ।
नर्वेबाट अन्तर्राष्ट्रिय डेभ्यु गरिसकेका हाल्याण्डले अहिलेसम्म केवल २ खेल खेलेका छन् ।