चीनबाट शुरु भएको कोरोना भइरसको महामारीले विश्व आक्रान्त छ । हालसम्म सयौंले ज्यान गुमाइसकेका छन् । अरु दशौं हजार संक्रमित छन् । चीनबाहेक जापान, थाइल्याण्ड, मलेशिया, भियतनाम, अस्टेलिया, फिलिपिन्स लगायतका मुलुकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
प्रायः सबै छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेपनि दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा भने हालसम्म कोरोनाभाइरसको कुनै संक्रमण पुष्टि भइसकेको छैन । उच्च जोखिमका बावजुद २६ करोड जनसङ्ख्या रहेको इण्डोनेशिया भने कोरोना भाइरसको महामारीबाट सुरक्षित देखिन्छ । यद्यपि विश्व स्वास्थ्य संगठनले इण्डोनेशिया यसको ठूलो जोखिममा रहेको जनाएको छ ।
आखिर किन इण्डोनेशिया कोरोना भाइरसको महामारीबाट जोगियो त रु त्यहाँका स्वास्थ्यमन्त्रीसँग भने यसको जवाफ छ । स्वास्थ्यमन्त्री टेरावान अगुस पुत्रान्तोका अनुसार ईश्वरलाई गरिएको प्रार्थानाका कारण इण्डोनेशिया प्राणघातक कोरोना भाइरसको महामारीबाट जोगिएको हो ।
‘हामीले ईश्वरप्रति आभार हुनुपर्छ ।’ यसअघि सैनिक चिकित्सिक र रेडियोलोजी विशेषज्ञका रुपमा काम गरेका पुत्रान्तोले भने, ‘हाम्रो प्रार्थानाका कारण यस्तो भएको हो । हामी इण्डोनेशियामा यस्तो होस् भन्ने चाहदैनौं ।’
इण्डोनेशियाले मुलुकमा कोरोना भाइरस महामारी नियन्त्रण गर्न स्वास्थ्य परीक्षणलाई चुस्त बनाएको छ भने चीनबाट र चीनतर्फ हुने सबै उडान स्थगित गरिसकेको छ । यसअघि बर्डफ्लू र इबोलाको महामारी फैलिँदा इण्डोनेशियाले अपनाएको सतर्कतालाई लिएर विश्वभर आलोचना भएको थियो ।
एक दशकभन्दा धेरैअघि एचवानएनवान भाइरसको महामारी फैलिँदा इण्डोनेशियामा २ सयभन्दा धेरैको ज्यान गएको थियो । हालसम्म इण्डोनेशिया ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भनी परीक्षण गरिएकोमा कसैमा पनि यसको पुष्टि भइसकेको छैन ।
त्यस्तै, महामारीग्रस्त वुहान शहरबाट २३८ जना आफ्ना नागरिकलाई इण्डोनेशियाले उद्धार गरी नाटुना बेसार टापुमा दुई सातासम्म क्वारेन्टाइनका लागि राखेको थियो । तीमध्ये कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थिएन ।