स्पेनिस फुटबल जाइन्ट बार्सिलोना अहिले सामाजिक संजाल सम्बन्धि विवादमा फसेको छ । बार्सिलोनामाथि क्लबको तथा केही खेलाडीको इमेज राम्रो बनाउन कम्पनि हायर गरेको आरोप लागेको छ । स्पेनमा यसै साता बार्सिलोनाले पब्लिक रिलेसन कम्पनि हायर गरेर क्लबका अध्यक्ष जोसेप मारियासहित मेसी, जेरार्ड पिके, जाभी, पुर्व कोच पेप गोआर्डीओलाको सामाजिक संजालमा विभिन्न एकाउन्ट बनाएर प्रचार गर्न लगाएको आरोप लागेको थियो ।
बार्सिलोनाले भने यस आरोपको खण्डन गर्दै आएको छ । बार्सिलोनाले यस प्रकरणमा विज्ञप्ति प्रकाशित गरेर नै खण्डन गरेको छ । बार्सिलोनाले खण्डन गरेपनि विज्ञप्तिमा आइ३ भेन्चर नामको कम्पनीसँग सम्झौता गरेको भने स्वीकार गरेको थियो । तर सामाजिक संजालका एकाउन्टसँग केही सम्बन्ध नभएको बताएको थियो ।
यसैबीच बार्सिलोनाका कप्तान लियोनेल मेसीले यस प्रकरणमा आफ्नो मुख खोलेका छन् । मेसीले यो प्रकरण बारे सुनेर आफु आश्चर्यमा परेको प्रतिक्रिया दिएका छन् । मेसीले भनेका छन् – ‘यसले म आश्चर्यमा परे किनकी मैले यस्तो यसअघि कहिल्लै सुनेको थिएन । अध्यक्षले सार्वजनिकरुपमा जे भने हामीलाई पनि सोहि जानकारी दिए ।’
मेसीले यो अलि असहज किसिमको घटना भयो भन्दै आफुहरु यो सही हो या होइन भन्ने बारे अहिले नै यकिन गर्न नसक्ने बताए । मेसीले यो ब्याख्या गर्न अलि कठिन विषय भएको आफुले महसुस गरेको बताए ।
मेसीले यो रिपोर्ट सहि हो या गलत आफुले अहिले भन्न नसक्ने बताए । बार्सिलोना शनिबार ला लिगा अन्तर्गतको खेलमा इबरविरुद्ध खेल्दै छ भने त्यसपछि फेब्रुअरी २५ मा च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ मा नापोलीविरुद्ध खेल्दै छ ।