स्ववियुको गरिमामाथि त्रिविको बक्रदृष्टि

नेपालमा निरङ्कुश पञ्चायती शासन भएको बखत २०३६ सालमा विद्यार्थीहरूको बलिदानी र संघर्षबाट स्थापित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) शैक्षिक रूपान्तरणसँगै विद्यार्थी आन्दोलनको मियो पनि हो । मिनी संसदको उपमाले चिनिने स्वतन्त्र विद्यार्थी युनियनले २०४६ सालको परिवर्तनदेखि लिएर ०६२-०६३ को आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । केवल विद्यार्थीहरूको हकहित र शैक्षिक मुद्दाका लागि मात्र नभएर देशको राजनीनिक र सामाजिक परिर्वतनमा पनि महत्वपूर्ण योगदान पुर्याएको स्ववियुको औचित र आवश्यकता आज पनि उत्तिकै सान्र्दभिक छ ।

देशमा कुशल राजनीतिक नेतृत्व गर्न सक्ने कुशल राजनेता जन्माउने स्ववियुको निर्वाचन प्रत्येक दुई वर्षको अन्तरालमा हुन्थ्यो र जसले गर्दा नेतृत्व उत्पादनसँगै शैक्षिक विकासका महत्वपूर्ण मुद्दाहरू पनि उजागर हुन्थे । देशमा जस्तोसुकै विषम परिस्थिति आए पनि नियमित हुँदै आएको स्ववियु निर्वाचन पछिल्लो समय त्रिभुवन विश्वविद्यालयकै कारण निर्धारित समयमा निर्वाचन हुन सकेको छैन ।



त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूलाई झुक्याएर पहिले निर्वाचनको हल्ला फिजाउँछ र पछि गएर जब चुनावको मिति नजिकिँदै जान्छ तब केही न केही बाहना बनाएर जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ । अहिले पनि त्रिवि आफ्नो जिम्मेवारबाट पन्छिन खोजेकोले गर्दा स्ववियुको निर्वाचन अनिश्चितकालका लागि स्थगित हुन पुगेको छ । केही दिनअघि मात्र फागुन १४ का लागि मिति घोषणा गरेको थियो, तर अन्तिम समयमा आएर फेरि त्रिविले सो मिति पनि अनिश्चितकालका लागि स्थगन गरेर स्ववियु निर्वाचनको प्रतीक्षामा रहेका आम विद्यार्थीहरूको अगाडि त्रिविले ताण्डव नृत्य देखाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलन र विद्यार्थीको हक अधिकार स्थापित गराउन गरिमामय अस्तित्व लिएर जन्मेको स्वतन्त्र विद्यार्थी युनियनमाथि त्रिविले अहिले आएर ताण्डव देखाउनु आफैंमा दुःखद् पक्ष हो ।

स्ववियु निर्वाचनको अध्यक्ष हुनुपर्ने प्रमुख व्यक्ति शिक्षाध्यक्ष नै नियुक्ति गर्न नसक्ने त्रिविले स्ववियु निर्वाचन यथाशीघ्र गराउला भनेर सोच्नु कल्पना बाहिर कुरा हो, यद्यपि विद्यार्थीहरूको बलिदानीपूर्ण संघर्षबाट स्थापित स्ववियुको निर्वाचन विभिन्न बाहना झिकेर स्थगित गर्दै स्ववियु नै खारेज गराउनतर्फ त्रिवि उद्यत रहेको देखियो भने यसले भोलिका दिनमा त्रिविलाई सकारात्मक परिणाम दिने छैन । विद्यार्थी शक्तिको अवमूल्यन गर्ने त्रिविको यो चाल आफैंमा एउटा खतराको सङ्केत पनि हो ।

(लेखक विष्ट आरआर क्याम्पसका स्ववियु सदस्य हुन ।)

सम्बन्धित समाचार