आज (शुक्रबार) बाट अष्ट्रेलियामा महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र भारतबीचको खेल सुरु भएको छ । सिड्नीमा सुरु भएको खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङको निर्णय लिएपछि भारतले ब्याटिङ थालेको हो ।
सन् २०१८ मा वेष्ट इन्डिजमा भएको विश्व कप क्रिकेटको उपाधि जितेको अष्ट्रेलिया यो पटक आफ्नै घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ । १० राष्ट्र रहेको विश्व कपमा दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली अष्ट्रेलियासँगै भारत, न्युजिल्यान्ड, श्रीलंका र बंगलादेश रहेका छन्। समूह ‘बि’ मा पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र थाइल्यान्ड छन् ।
थाइल्यान्ड विश्व कप खेल्ने एक मात्र एसोसिएट राष्ट्र हो । थाइल्यान्डमै भएको छनोट प्रतियोगितामा नेपाललाई पराजित गर्दै थाल्यान्ड विश्व कपका लागि छनोट भएको थियो । विश्व कपको फाइनल मार्च ८ तारिखमा हुनेछ ।