कोरियामा कोरोनाः संक्रमितको संख्या ४ सय ३३ पुग्यो, कामदारलाई बाहिर निस्कन प्रतिबन्ध

दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन् ।

कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर, थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेको कान्तिपुर दैनिकमा समाचार छ । थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।



थेगु नजिकैको छाङदोको छाङदो थेनाम अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ९ जना अस्पतालका कर्मचारी र १ सय २ जना भाइरसबाट संक्रमित भएका छन् । थेगु र छाङदोमा मात्रै ३ सय ५३ संक्रमित छन् । भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् ।

थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपीएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइवाले बताइन् ।

सम्बन्धित समाचार