चीनबाहिर पनि कोरोना भाइरसको महामारी, इटालीका १२ शहरमा आवतजावत प्रतिबन्ध

कोरोना भाइरस अर्थात कोभिड – १९ को प्रभाव चीनमा कम हुँदै गएको बताइरहँदा चीन बाहिर यसले महामारीको रुप लिएको छ । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बर बढेको छ भने इटालीमा समेत ७९ जनामा कोरोनाको संक्रमण देखिएपछि आवातजावत नै बन्दको घोषणा गरिएको छ ।



कोरोना भाइरसकै कारणा दुई जना इटालीयन नागरिकहरूको ज्यान गइसकेको छ । प्रकोप फैलने त्रासले इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध लगाइएको छ ।

कोभिड-१९ का बिरामीहरू बढ्दै गएपछि शनिवार रातीदेखि नै आपतकाल योजना अन्तरगत एक दर्जन शहरहरु क्वारन्टीनको अवस्थामा राखिने निर्णय गरेको इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले बताएका छन् ।

तत्काललाई आवातजावतमा नै प्रतिबन्ध लगाएपछि करिव ५० हजार मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । कोरोनाकै त्रास फैलिएपछि इटालियन सिरिजका तीन वटा खेलसमेत रद्द भएका छन ।

सम्बन्धित समाचार