के शाहरुख खान ‘मोग्याम्बो’ बन्न लागेका हुन् ?

सन् १९८७ को सुपरहिट फिल्म मिस्टर इंडियाको अर्को भाग बन्ने भएसँगै यस फिल्मको बहुचर्चित भिलेन ‘मोग्याम्बो’ भूमिकाका बारेमा अनेकौ अड्कल र चर्चा भइरहेका छन् ।

फिल्म निर्माण भएको ३३ बर्षपछि मिस्टर इंडिया-२ लाई बलिवुडका चर्चित फिल्म निर्देशक अली अब्बास जाफरले निर्देशन गर्ने भएका छन् भने मिस्टर इंडियाको भूमिका रणवीर सिंहले निभाउने भएका छन् । फिल्मलाई जी स्टुडियोजले निर्माण गर्ने बताइएको छ ।



मिस्टर इंडियामा अनिल कपुरले आइकोनिक भूमिका निभाएका थिए । अनिल कपुरलाई रणवीर सिंहले रिप्लेस गरेसँगै चर्चित ‘मोग्याम्बो’ को भूमिकाका लागि शाहरुख खानको नाम अगाडी आएको छ ।

बलिवुड हंगामाका अनुसार शाहरुख र रणवीरले मिस्टर इंडियाको प्रोमोको टेस्ट सुट समेत गरेका छन् । यस अघि अमरिश पुरीले निभाएको यो आइकोनीक भूमिका ‘मोग्याम्बो’ का लागि शाहरुखले स्वीकृति जनाएको बताइए पनि आधिकारिक घोषणा भने गरिएको छैन । अहिले टेस्ट प्रोमो शाहरुखकै ब्यानर रेड चिलिजको वीएफएक्सद्वारा तयार गरिएको बताइएको छ ।

फिल्म अहिले प्रि-प्रोडक्सन स्टेजमा रहेको बताइएको छ भने निर्देशक अलीले फिल्मको स्क्रिप्ट फाइनल गरिसकेको बताइएको छ ।

फिल्म बन्ने चर्चासँगै मिस्टर इंडियाका निर्देशक शेखर कपुरले असन्तुष्टि व्यक्त गर्दै फिल्म चलाउन नाम प्रयोग गरिएको आरोप लगाएका छन् । उनले ट्वीट गर्दै लेखेका छन् – ‘फिल्म हिट बनाउन टाइटलको प्रयोग गरिएको छ । तर फिल्मका पात्र र कथाको प्रयोग यस फिल्मका निर्माताको अनुमति विना गर्न सक्ने छैनन् ।’

प्राप्त मिडिया रिपोर्ट अनुसार मिस्टर इंडिया-२, २०२२ को दिपावलीमा रिलिज हुनसक्ने बताइएको छ ।

सम्बन्धित समाचार