कोरोनाको प्रभाव खेलमा पनि, इटालीमा बार्सिलोनाका खेलाडीहरुको कोरोना टेस्ट हुने !

इटालियन फुटबललाई कोरोना भाइरसको संक्रमणले प्रभावित गरेको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म २ जनाले इटालीमा ज्यान गुमाउनुका साथै अहिलेसम्म ७९ जनामा संक्रमण देखिएको छ । मिडिया रिपोर्टका अनुसार एक फुटबलरमा समेत कोरोनाको संक्रमण देखिएको छ ।

यसैबीच स्पेनिस महारथी बार्सिलोना मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लिग खेल्न इटाली जाँदै छ । नापोलीविरुद्धको सो खेल अघि बार्सिलोनाका खेलाडीहरुलाई कोरोनाको टेस्ट हुने भएको छ ।



सावधानी अपनाउन खेलाडीको तापक्रम नाप्न लागिएको इटालियन मिडियाले उल्लेख गरेका छन् । इएसपीएनले बार्सिलोनाको टिम नाप्लेज आउनसाथ उनीहरुको टेस्ट गरिने र केहि समस्या देखिए सिधै अस्पताल लैजाने व्यस्था गरिएको उल्लेख गरेको छ ।

यस अघि इटालीमा सिरी ए का आइतबारका ३ खेल कोरोनाकै कारणले स्थगित गरिएको थियो । बार्सिलोनाले यस अघि ला लिगामा इबरविरुद्ध लियोनेल मेसीको ४ गोल सहित ५-० को जित हासिल गर्दै लिगको शिर्ष स्थानमा पुगेर उच्च मनोबलका साथ च्याम्पियन्स लिगको तयारीमा जुटेको छ ।

सम्बन्धित समाचार