पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जाफर मिर्जाले बुधबार साँझ ट्वीट गर्दै पहिलोपटक २ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
उनले दुवै जनालाई स्वास्थ्य निगरानीमा राखिएको र उनीहरुको स्थिति स्थिर रहेको जनाएका छन् । ‘त्रसित हुनुपर्ने अवस्था छैन, अवस्था नियन्त्रणमा छ,’ उनले भनेका छन् । संक्रमितमध्ये एकजना सिन्ध प्रान्तका र अर्का संघीय क्षेत्रका रहेको जनाएका छन् ।
२ साताअघि इरानको भ्रमणबाट फर्केका व्यक्तिहरु कोरोना संक्रमित भएका हुन् । पाकिस्तानले इरानसँगको सीमा बन्द गरेको छ। इरानमा कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ।