कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ झलारी कलुवारका एक दम्पतीको हत्या भएको छ । बिहीबार राति ५२ वर्षीय जयलाल भण्डारी र २२ वर्षीया पत्नी धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
भण्डारीका दुई घर छन् । एक घरमा पत्नी र अर्को घरमा पतिको शव फेला परेको हो । भण्डारीले धनादेवीसँग केही वर्षअघि दोस्रो विवाह गरेका थिए । जयलालकी पहिलो पत्नीको मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका छिमेकीले बताएका छन् । मृतक दम्पतीका ६ महिनाकी एक छोरी छिन् ।
प्रहरीले घटना अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरेको छ । बुधबार राति घटना भए पनि बिहीबार दिउँसो मात्रै स्थानीयले थाहा पाएका थिए । दिनभर घरमा चालचुल नदेखेपछि मृतक महिलाकी आफन्त पार्वती रावल दिउँसो भण्डारीको घरमा पुगेकी थिइन् । दुई घरमा पतिपत्नीकै शव देखेपछि रावलले प्रहरीलाई खबर गरेकी हुन् ।
कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनी आफैँ घटनास्थल पुगेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘घटनाको सूक्ष्म ढंगले अनुसन्धान सुरु गरेका छौँ । केही दिनमा यथार्थ खुल्ला,’ कार्कीले भने । आमाबाबु दुवैको मृत्यु भएपछि ६ महिनाकी बालिकाको विचल्ली भएको छ ।