ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए । एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन् । ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी थिइन् ।
घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे । केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे । घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए ।
प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो । नमानेपछि बल प्रयोग गर्यो । त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए । उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन् । पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो।
ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए । इन्स्पेक्टर पौडेलले आफूले लाठी प्रहार गरेको स्वीकारेका छन् ।
‘त्यहाँ पुगेपछि हामीले महिलाहरूलाई कानुनी प्रकृयामा अगाडि बढ्नुस् भनेका थियौं,’ पौडेलले भने, ‘नमानेपछि क्लियर गरिदिएका हौं ।’ बच्चा बोकेकी महिलामाथि किन लाठी हानेको त भन्ने प्रश्नमा उनले सामान्य बल प्रयोग गरेको बताए।
‘अब प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि गरिहाल्छ नि,’ उनले भने ।
https://www.facebook.com/mak.panth/videos/3095435183834408/