नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले अडियो प्रकरणमा आएको प्रधानमन्त्रीको अभिव्यक्ति छानबिनलाई प्रभावित पार्ने उद्देश्यबाट प्रेरित भएको बताएका छन् । बाँस्कोटाको अडियो प्रकरणमा विहिबार प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गर्दै उक्त अडियोमा कुनै सत्यता नभएको बताएका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि नेता थापाले प्रतिक्रिया जनाउँदै सो कुरा बताएका हुन् । बाँस्कोटाको चुलो र तुलोको जिम्मा लिएका प्रधानमन्त्रीले आवाजको पनि जिम्मा लिएको भन्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीको भनाईले छानविनमा प्रभावित पार्ने जनाउँदै नेता थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘प्रधानमन्त्रीज्यूले गोकुलजीको प्रतिरक्षामा दिनुभएका भनाई छानबिन प्रभावित पार्ने उद्देश्यबाट प्रेरित छन् । बाँस्कोटाको चुलो र तुलोको जिम्मा लिनुभएका प्रधानमन्त्रीले अब आवाजको पनि जिम्मा लिएपछि यो लगायतका प्रकरणमा प्रम पुर्णत जानकार र संलग्न हुनुहुन्थ्यो भन्ने कुरालाई पुष्टि गर्दैन र ?’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले बिहीवार उक्त अडियो बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको दाबी गरेका थिए ।