चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण फेला नपरेपछि आजै घर फर्काइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरूको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काउने तयारी भएको बताए ।
‘सबै जनाको ल्याब रिपोर्ट आइसकेको छ,’ उनले भने, ‘रिपोर्टमा सबै जनामा कोरोना भाइरसको संक्रमण देखिएन । त्यस कारण आजै घर फर्काउने तयारी भएको हो ।’ क्वारेन्टाइनमा राखिएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिनपछि पुनःपरीक्षण गर्दा पनि नेगेटिभ नै आएको हो । उनीहरुको नमुना शनिबार संकलन गरिएको थियो । उनीहरुलाई ल्याउने चालक दलसहितका १८ जनाको टिमको पनि नमुनामा कोरोना पाइएको छैन । चालक दलका टिम आइतबार नै घर फर्किसकेका छन् । उनीहरुलाई नगरकोट क्वारेन्टाइनमा राखिएको थियो ।