नेपाल सरकारले अत्यावश्यक अवस्थाबाहेक विदेश नजान नेपालीहरुलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा सूचिकृत गरेपछि नेपाल सरकारले विशेष पूर्वसावधानी अपनाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘अत्यावश्यक अवस्थाबाहेक काम, अध्ययन, घुमफिरका लागि विदेश नजान अनुरोध गर्दछौं । तत्कालन विद्यार्थीहरुलाई ‘नो अब्जेक्स सर्टिफिकेट’ नदिइने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान हामी अपिल गर्दछौं ।’
त्यसैगरी विवाह, पार्टीजस्ता कुराहरुलाई पारीवारिक जमघटमा सीमित राख्न समेत मन्त्री ज्ञवालीले आग्रह गरेका छन् । उनले ठूलो भीडमा नबस्न, लामो समय बाहिर नहिंड्, मास्क प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।
त्यसैगरी मास्क र स्यानीटाजर उत्पादनमा वृद्धि गर्न सम्बन्धित उद्योगलाई आग्रह गरिएको समेत परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
खरिपाटीको क्वारेन्टाइनलाई निरन्तरता दिइने
परराष्ट्र मन्त्री ज्ञवालीले खरिपाटीको क्वारेन्टाइनलाई नियमित गर्ने बताएका छन् । उनले विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुनसक्ने भएकोले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई नियमित गर्ने बताएका हुन् ।
यसअघि चीनको वुहानबाट ल्याइएर क्वारेन्टाइनमा राखिएका १७५ नेपालीहरुलाई आज घर पठाउने यसअघि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
विभिन्न अस्पतालहरु आइसोलेसन वार्डको प्रबन्ध मिलाइएकोसमेत परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, ‘कम्तिमा १०० बेडको आइसोलेसन वार्डको प्रबन्ध मिलाइएको छ । आपतकालीन अवस्थामा सबै अस्पतालालाई तयारीमा रहन आग्रह गरेका छौं ।’