यसरी बढाउन सकिन्छ कोरोनासँग लड्ने क्षमता

विश्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड१९)को अति जोखिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरू बताएका छन् । उनले सामाजिक सञ्जाल फेस्बूकमा लेख्दै कोरोना भाइरससँग लड्न शरीरको इम्युनिटी पावर कसरी बढाउने भन्ने बताएका छन् ।



हेरौं उनले सुझाएका उपायहरू:

हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।
१, पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।
२, नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।
३, घाममा बसौं ।
४, नियमित अनुलोम र विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
५, चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
६, बिहान र बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।
७, लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८, भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९, पर्याप्त मात्रामा सुतौं ।
१०, पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।
११, मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२, दिल खोलेर हाँस्ने गरौँ ।
१३, नियमित चिया र कफी (दुध चिनी नहालेको) सेवन गरौँ ।
१४, ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५, सरसफाइमा अल्छी नगरौं ।

सम्बन्धित समाचार