प्रधानमन्त्रीको स्वास्थ्यलाभको लागि पशुपतिनाथमा विशेष पूजा

प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार विहान विशेष पूजा गरिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरिएको हो ।

विशेष पूजाका लागि ओलीका आफन्त बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । सोमबार ओलीका पारिवारीक सदस्यले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने इच्छा गरेबमोजिम आज विहानै करिव १० मिनेट विशेष पूजाआजा गरिएको बताइएको छ ।



पशुपतिका मूलभट्ट गणेश भट्टलगायतले ओलीको सुस्वास्थ्य तथा मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित पूजा गरे पनि पशुपति क्षेत्र विकास कोषले भने यसबारे जानकारी नभएको जनाएको छ ।

‘यसबारे हामीलाई केही जानकारी छैन, पारिवारिक रुपमा उहाँहरुले आएर पूजाआजा गरेको हुनसक्छ ।’ कोषका सदस्य सचिव प्रदीप ढकालले भने ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार