प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको लागि अहिले उचित समय होइनः डा. दीक्षित

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका लागि अहिले उचित समय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा डा. दीक्षितले अहिले कोरोनाको संक्रमण जतासुकै फैलिएकोले यो समयमा प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि उचित समय नभएको बताएका हुन् ।

डा. दीक्षितले प्रधानमन्त्रीको मुृगौला प्रत्यारोपण गर्नुपर्ने आवश्यकता भएको भए पनि यो सही समय हो या होइन विचार गरिनु पर्ने बताए । उनले भने ‘अप्रेसन एकदम राम्रो हुन्छ, गर्न पर्ने पनि छ । तर उहाँलाई अहिले तत्काल नै मृगौला प्रत्यारोपण गरिहाल्नु पर्ने कारण के हो ? जब कि अहिले यस्तो संक्रमण आइरहेको छ । डाइलसिस त चलिरहेको थियो ।’



पहिले राजाले पनि आफ्नो उपचार नेपालमै गराएको भए पनि नेताहरू सानोतिनो उपचारको लागि विदेश जाने गरेको भन्दै गुनासो गर्दै उनले भने ‘अहिले प्रधानमन्त्रीले आफ्नो उपचार नेपालमै गर्नलाग्नु भएको छ । यसले नेपालीको इज्जत बढाइदिनु भएको छ र डाक्टरहरूमाथि विश्वास बढाइदिनु भएको छ ।’

भ्रमण वर्षलाई बढी महत्व दिँदा विदेशी पर्यटनहरूबाट नेपालमा कोरोना भाइरस भित्रिन सक्ने सम्भावना बढेको भन्दै डा. दीक्षितले सरकारले त्यसतर्फे ध्यान नदिइएको आरोप लगाए । कोरोनाको संक्रमण फिलिपिन्स, थाइल्याण्डदेखि साउथ अमेरिकासम्म पुगिसकेको भन्दै उनले नेपालमा पनि त्यसको संक्रमण हुन सक्ने बताए । साथै, उनले साउथ कोरियामा पनि कोरोनाको संक्रमण फैलिसकेकोले त्यहाँबाट नेपाल आउने नेपाली र पर्यटनप्रति पनि सचेत रहनु पर्ने बताए ।

कोरोना भाइरसको संक्रमण २० वर्षयता तीनपटक देखा परिसकेको बताउँदै डा. दीक्षितले भने ‘बीस वर्षयता पहिलो चोटी २००२ मा, दोस्रो पटक २०१३ मा र अहिले २०२० मा तीन किसिमका कोरोना भाइरस देखा परेको छ । पहिलो पटकको कोरोना भाइरसबाट ३५ प्रतिशत र दोस्रो पटककोमा ४० प्रतिशत मृत्यदर थियो । जति बढी मृत्यदर हुन्छ सर्ने सम्भावना त्यति नै कम हुन्छ । अहिले मृत्यदर कम छ र सर्ने सम्भावना बढी छ ।’

सम्बन्धित समाचार