प्रधानमन्त्रीको शल्यक्रिया जारी

दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ । बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

अस्पतालले बिहान ९ बजेदेखि शल्यक्रिया थाल्ने बताएपनि शल्यक्रिया अघि गरिएको सम्पूर्ण स्वास्थ्य परीक्षणको रिपोर्ट केही ढिलामात्र आएकाले १० बजेमात्र अपरेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा।प्रेम खड्काले जानकारी दिए ।



प्रधानमन्त्री ओलीलाई झापा चारखालीकी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी छन् । उनलाई पनि आज प्रधानमन्त्री ओली भन्दा केहीबेर अघिमात्र अपरेसन थिएटरमा लगिएको थियो ।

मिर्गौला दान संग्रौलाले आफूले प्रधानमन्त्री ओलीका लागि नभई भोलिको नेपालका लागि मिर्गौला दान गरेको बताएकी थिइन । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न भारतबाट डा। अनन्त कुमार नेपाल आएका छन् ।

डाक्टर कुमारले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी हुन नेपाल मेडिकल काउन्सिलबाट हिजै लाइसेन्स समेत लिएका थिए । उनलाई ६ दिनका लागि लाइसेन्स दिइएको छ । डा। अनन्त प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक समेत हुन् ।

अहिले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया भइरहेको त्रिवि शिक्षण अस्पताल परिसरमा ओलीका शुभचिन्तक, नेकपाका नेता तथा कार्यकर्तालगायतको उपस्थिति रहेको छ ।

सम्बन्धित समाचार