नारायणकाजी श्रेष्ठको पहिलो सम्बोधन, राष्ट्रियसभालाई तीन सुझाव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुको विकल्प नभएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले समृद्ध नेपाल निमार्णको कार्यभार पूरा गर्न व्यवहारमा देखाउनु पर्ने बेला आएको बताएका हुन् ।

उनले समृद्ध नेपाल निर्माणको जिम्मेवारी जनादेशले आफ्नो पार्टीलाई दिइएको भए पनि यसमा सबै राजनीतिक दलहरू एक भएर लाग्नु पर्ने बताए । नेपाल अथाह सम्भावना हुँदाहुँदै पनि कयौं युवाहरू विदेशिनु परेको भन्दै श्रेष्ठले यस्तो अवस्थाको अन्त्य गरिनु पर्ने बताए ।



अहिले देशमा लोकतन्त्र छैन, संक्रमणकाल छ, संविधान छैन र राजनीतिक स्थिरता पनि छैन भन्न नपाइने बताउँदै श्रेष्ठले साममजिक न्यायसहितको समृद्ध नेपाल बनाउनु र समाजवादको आधार तयार पार्नु आफूहरूको मुख्य जिम्मेवारी भएको बताए । सत्ताको चरित्र थोरै निरङ्कुश हुने भए पनि भ्रष्टीकरणको प्रक्रियाबाट आफूहरू जोगिनुपर्ने उनको भनाइ थियो ।

पुर्खाहरूको इतिहासले अहिले हामी गर्व गर्ने अवस्था भएको बताउँदै श्रेष्ठले भने ‘नेपाल विश्वमा सुन्दर देशहरूको सूचिमा आंैलामा गन्न सक्ने देश हो । विकासको सम्भावनाका दृष्टिले पनि नेपाल सम्भावना भएको देश हो । हामीले हाम्रो देश एउटा सार्वभौमसत्ता सम्पन्न स्वाधीन लोकतान्त्रिक सुन्दर देश भनेर मात्र होइन, हाम्रो देशलाई समृद्ध, सभ्य र सुसंस्कृत देश हो भनेर पनि स्थापित गराउनु पर्छ ।’

राष्ट्रिय सभाको सपथ खाएको पहिलो दिन सम्बोधनको शुरूमै शहीदहरूलाई सम्झिएका श्रेष्ठले राष्ट्रियसभाले विवेकपूर्ण ढङ्गले लोकतन्त्रको अभ्यास गर्नुपर्ने, परिपक्व संसदको रूपमा पुष्टि गर्नुपर्ने र संघीयताको रक्षा गर्नुपर्ने कुरामा जोड दिए ।

सम्बन्धित समाचार