जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन मुलुकका केही स्थानमा मेघ गर्जन/ चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावका कारण मेघ गर्जन/ चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।
विभागले हाल देशको मध्य तथा पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउ समेत अनुरोध गरेको छ ।
शनिबार पनि देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आइतबार देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेनेछ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।