प्रहरीले भन्यो : मापसे चेकिङ हुन्न भनेर ज्यान जोखिममा नफालौं

प्रहरीले मापसे चेकिङमा कोरोना संक्रमणको त्रासका कारण देखिएको समस्याले आफ्नै जीवन धरापमा नपार्न आग्रह गरेको छ । प्रहरीले सुँघेर मापसे चेकिङ बन्द गर्ने निर्णय गरेपछि त्यसको फाइदा उठाउने नाममा मापसे सेवन गरेर दुर्घटनाको शिकार नबन्न आग्रह गरेको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले भने, ‘कोरोना साझा दुश्मन हो । आफ्नो जीवन र स्वास्थ्यप्रति हामी आफै सर्तक हुनुपर्छ । प्रहरीलाई छल्न पाइयो भनेर गौरव नगरौं । जीवनभन्दा ठूलो मापसे होइन ।’



चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको असर न्यूनीकरण गर्न प्रहरीले सुँघेर मापसे गर्ने काम बन्द गरेको थियो । तर ‘ब्रेथलाइजर’बाट जाँचलाई निरन्तरता भने दिएको छ । ट्राफिक कारबाहीमा सबैभन्दा बढी कारबाही काठमाडौं उपत्यकाका तीन जिल्लामा हुने गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने, ‘ट्राफिक कारबाही रोकेका होइनौं । ब्रेथलाइजर मापसे चेक गरिरहेका छौं । तर अत्यावश्यक अवस्था र शंका लागेमा मात्रै ब्रेथलाइजरको प्रयोग गर्छौं ।’

उनले नागरिकले ट्राफिक नियम राज्यका लागि मात्रै नभई आफ्नै सुरक्षाका लागि भएको महसुस गर्नुपर्ने बताए । सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्ने जोड दिँदै आवश्यक सहयोग र सहकार्य गर्न सम्बद्ध पक्षलाई एसएसपी ढकालले आग्रह गरे । प्रहरीलाई जाँचका क्रममा आवश्यक दूरी बनाउन समेत निर्देशन दिइएको छ ।

डीआइजी पोखरेलले भने, ‘जस्तोसुकै कठिन अवस्थामा पनि प्रहरी जिम्मेवारीबाट पछि हट्न मिल्दैन । कतिपय अवस्थामा पक्राउ, भीड नियन्त्रण लगायका अवस्था आइपरे जोखिम घटाउन पूर्ण सावधानीका साथ अगाडि बढ्छौं ।’

डीआईजी पोखरेलले विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन निर्देशन दिइएको बताए । नेपालमा कोरोना भाइरसको प्रभाव परिनसकेको भए पनि समयमै सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।

यस्तै प्रहरीले आन्तरिक रुपमा अभिवादन गर्ने भए पनि कतिपय अवस्थाले सेवाग्राही वा अन्य व्यक्तिसँग हात मिलाउनुपर्ने भए पनि सकेसम्म हात नमिलाउन र नमस्ते गर्नसमेत निर्देशन दिएको छ ।

सम्बन्धित समाचार