हलिउड निर्माता हार्वी वाइन्स्टाइनको मुटुको शल्यक्रिया भएको छ। मुटुको शल्यक्रिया पश्चात उनलाई अमेरिकाको न्युयोर्कस्थित राइकर्स आइल्षाण्ड जेलमा सारिएको छ।
छाती दुखाइको कारण उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाह अनुसार उनको मुटुको शल्यक्रिया गरिएको हो ।
यसअघि हार्वी यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका थिए । उनीविरुद्ध ८० बढी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । ६७ वर्षीय वाइन्स्टाइनलाई अदालतले ‘थर्ड डिग्री रेप’ र ‘फर्ट डिग्री आपराधिक यौन कार्य’मा दोषी ठहर गरेको हो । उनलाई पच्चीस वर्षसम्म जेल सजाय हुने बताइएको छ ।
यसअघि सन् २०१३ सालमा लस एन्जलसमा पनि उनलाई बलात्कार र यौन हिंसाको आरोप लागेको थियो । जसमा हलिउड अभिनेत्री गवेनेथ पाल्त्रो, उमा थुरम्यान र सल्मा हायेक लगायतले उनलाई यौन शोषणको आरोप लगाएका थिए ।
दशकौँपछि महिलाहरुले मिटु अन्तर्गत यौन शोषणविरुद्ध आवाज उठाएका हुन् । उनले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपलाई अस्वीकार गर्दै आए पनि अदालतले भने दोषी ठहर गर्दै तुरुन्त जेल पठाउने आदेश दिएको थियो ।
त्यसो त हार्वी हलिउडका चर्चित निर्माता मध्ये एक हुन् । उनले ‘द विल हिन्टङ’, ‘शेक्सपियर इन लभ’ लगायतका थुप्रै फिल्महरु निर्माण गरेका हुन् ।